एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ४–१ को सानदार जित निकालेको छ ।

रियलले एलाभेसविरुद्ध प्रशिक्षक जिनेदिन जिदानसँगै कप्तान सर्जियो रामोस, नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, फेडरिको भाल्भेर्डे, रोड्रिगो र मार्टिन ओडेगार्ड विनै सानदार जित हात पारेको हो । जिदानलाई कोरोना संक्रमण हुदा अन्य खेलाडी चोटका कारण मैदान बाहिर छन् ।
एलाभेसको मैदानमा शनिबार राति भएको खेलमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा क्यासमिरो र इडेन हाजार्डले समान एक गोल थपे । घरेलु टोलीका जोसेलुको गोल सान्त्वना बन्यो ।

यससँगै रियलले गत नोभेम्वरमा घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदलासमेत लिएको छ । रियलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको थियो । दोस्रो हाफमा रियलले थप एक गोल गर्दा एक गोल खाएको थियो ।
एलाभेसको मैदानमा रियलले खेलको १५औं मिनेटमा क्यासमिरोको गोलबाट अग्रता लिएको थियो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा करिम बेन्जेमाले हाजार्डको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोनी क्रुसको पासमा हाजार्डले गोल गरेपछि रियल खेलमा ३–० ले अघि बढ्यो । ५९औं मिनेटमा एलाभेसका जोसेलुले लुकास पेरेजको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ७०औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४–१ को सानदार जित दिलाए ।
यस नतिजासँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी ४ मा झारेको छ । रियलको १९ खेलबाट ४० अंक पुगेको छ । दुई खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । पराजित एलाभेस १८ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।