एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले घरेलु मैदानमा एटलान्टासँग ३–० को लज्जास्पद हार बेहोरेको छ ।

यो सिजनको सिरी ‘ए’ मा मिलानको यो दोस्रो हार हो । यसअघि मिलान युभेन्टससँग ३–१ ले पराजित भएको थियो । मिलानको हारमा क्रिस्टियन रोमेरो, जोसेप इलिसिस र डुभान जापटाले गोल गरेका थिए । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोली खेलको १५औं मिनेटमा पछि परेको थियो । क्रिस्टियन रोमेरोले रोविन गोसेन्सको पासमा गोल गर्दै एटलान्टालाई अघि बढाएका थिए ।

५३औं मिनेटमा जोसेप इलिसिसले पेनाल्टीमा गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पार्दा मिलानको खेलमा फर्कने आशा सकिएको थियो । इलिसिसमाथि फ्रान्क केस्सीले एलबो प्रहार गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी दिएको थियो । ७७औं मिनेटमा डुभान जापटाले रोमेरोको पासमा गोल गर्दै मिलानलाई ३–० को हार चखाए ।
यो हारसँगै मिलान १९ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा आफ्नो शीर्षतालाई थप मजवुत बनाउनबाट चुकेको छ । मिलानको दोस्रो स्थानको इन्टर मिलानको भन्दा २ अंक बढी छ । जितसँगै एटलान्टा ३६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
अन्य नतिजा
रोमाविरुद्ध स्पेजिया (४–३), उडिनेसविरुद्ध इन्टर मिलान (०–०), फियोरेन्टिनाविरुद्ध क्रोटोन (२–१)