काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला लिगमा अर्को खेल बराबरीमा टुंगिएको छ । नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच मंगलबारको खेल १–१ को बराबरीमा टुंगिएको हो । खेलमा पछि परेको पुलिस बराबरी गर्न सफल भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि मेथो इलुडाइ रुथ र पुलिसका लागि रेखा पौडेलले गोल गरेका थिए । खेलको आठौ मिनेटमा मेथो इलुडाई रथले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पुलिसकी गोलरक्षक उषानाथले सहजै नियन्त्रणमा लिइन् ।
२९औं मिनेटमा पुलिसकी रेखाले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा सरिश्मा थापाले गोललाईन नजिकै बाट क्लियर गर्दै बचाईन् । लगत्तै अमृता जैशीको फ्रिकिकलाई वालिङका गोलरक्षक सावित्री किसानले रोकिन् ।
३०औं मिनेटमा वालिङकी कियोमेग्ने जोमो भेनेसा नोइलीको लामो पासलाई टोेउटा नोईलीले नियन्त्रणमा लिन नसकेपनि मेथो इलुडाईले गरेको प्रहारलाई अमृताले गोललाई नजिकबाट क्लियर गरिन् ।
५१औं मिनेटमा टोउटा नोईलीको पेनाल्टी बक्स बाहिरको प्रहार पोष्ट नजिकै बाहिरियो । ५३औं मिनेटमा मेथो ले एकल प्रयासमा गोल गर्दै वालिङलाई अगाडि बढाइन् । ६५औं मिनेटमा रेखाले गोल गर्दै खेललाई १–१ बराबरीमा पुर्याएकी थिइन् । अमृताको फ्रिकिकमा गोलरक्षक सावित्री अघि बढेको अवस्थामा रेखाले सहजै गोल गरिन् ।
तेस्रो खेलमा यो पुलिसको दोस्रो बराबरीमा हो । टोलीले पहिलो खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।