काठमाडौं (हाम्रो खेलकुद)– कल्चर ग्रिन क्लब सुनसरीमा जारी इनरुवा नाइन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिनगर फुटबल क्लबलाई बुधबार २–१ ले हराउँदै कल्चर ग्रिन अन्तिम चारमा पुगेको हो ।

कल्चर ग्रिनका लागि वर्तमान राई र अवतार सुनुवारले गोल गरेका थिए । शान्तिनगरकातर्फबाट किरण राईले गोल गरेका थिए । १६ औं मिनेटमा वर्तमानले गोल गर्दै कल्चर ग्रिनलाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ४३ औं मिनेटमा शान्तिनगरका किरणले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसको दुई मिनेट पछि नै अवतारले गोल गरे कल्चर ग्रिनले खेलमा पुनः अग्रता लिएको थियो ।

विजयी टोलीका वर्तमान राई खेलको म्यान अफ दि म्याच घोषित भए । समाजसेवी विन्देश्वर यादवले वर्तमानलाई १ हजार रुपैयाँ हस्तान्तरण गरे । इनरुवा फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बिहीबार पन्चायन फुटबल क्लब र मधेसा युवा क्लबबीच तेस्रो क्वार्टरफाइनल हुनेछ ।