एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आज सेफिल्ड युनाइटेडको सामना गर्दैछ । घरेलु मैदानमा हुने खेल जितेको खण्डमा युनाइटेड पुनः शीर्षस्थानमा उक्लनेछ ।

खेल नेपाली समय अनुसार राती २ः०० बजे सुरु हुनेछ । सेफिल्डसँग खेल्नुअघि युनाइटेडका लागि भने सुखद खबर मार्कुस रासफोर्ड फिट भएको बताइएको छ ।
आइतबार लिभरपुलविरुद्धको एफए कपको चौथो चरणमा रासफोर्डले गोल गरेका थिए । युनाइटेड सो खेल जितेको थियो । त्यो खेलमा रासफोर्ड समान्य घाइते भएका थिए । घुँडामा लागेको चोट स्क्यानबाट खासै ठूलो समस्या नरहेको बताइएको छ ।
युनाइटेडका प्रशिक्षकले उनी सेफिल्डविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् ।
१९ खेलको समाप्तीमा सिटी ४१ अंकका साथ शीर्षस्थानमा रहेको छ । त्यत्ति नै खेलमा युनाइटेडको ४० अंक छ । सेफिल्डलाई हराउन सके युनाइटेडले सिटीलाई २ अंकले पछि पार्नेछ ।
सेफिल्ड ५ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । प्रिमियर लिगका अन्य खेलमा चेल्सी र उल्भ्स, लेस्टर सिटी र एभर्टन, ब्राइटन र फुलहम तथा बर्नली र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुनेछ ।