एजेन्सी – दोस्रो श्रेणीको रायो भालेकानोमाथि २–१ को पूनरागमन जित निकाल्दै क्याटलान क्लब बार्सिलोनाले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

बार्सिलोनाको अन्तिम आठको यात्रामा कप्तान लियोनेल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । घरेलु टोली रायो भालेकानोका फ्रान्सिस्को गार्सियाको गोल सान्त्वना बन्यो । भालेकानोको मैदानमा बुुधबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
६३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै भालेकानोले बार्सिलोनाविरुद्ध १–० को अग्रता लिन सफल भयो । तर भालेकानोको त्यो अग्रता लामो समय टिकेन । ६९औं मिनेटमा कप्तान लियोनेल मेस्सीले एन्टोइन ग्रिजमनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
८०औं मिनेटमा फ्रान्की डि जोङले जोर्डी अल्वाका पासमा गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाउदै अन्तिम आठको यात्रा तय गराए ।