काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी खेलाडी मेथो एलुड रुथले दोहोरो ह्याट्रिक पुरा गरेपछि वालिङ नगरपालिका स्याङ्जाले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गर्दा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १०–० को सानदार जित निकालेको छ ।

लिगमा यो सबैभन्दा फराकिलो जित हो । यसअघि चन्द्रपुर र चौदण्डीगढीको खेलमा ७–१ को नजिता निस्किएको थियो । एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको एकपक्षीय खेलमा चौदन्डीगढी निरिह बन्दा वालिङकी सम्झना शर्माले दुई तथा टोेउटा नोउल्ली र मनमाया दमाईले समान एक गोल गरिन् ।
एकपक्षीय बनेको खेलको सातौ मिनेटमा मेथो एलुड रुथले गोल गर्दै वालिङलाई १–० ले अघि बढाईन् । नवौ मिनेटमा डिफेन्डरको गल्तीमा मेथोले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई २–० ले अघि बढाईन् । १९औं मिनेटमा मेथोले ह्याट्रिक पूरा गर्दा वालिङले खेलमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

३३औं मिनेटमा मनमाया दमाईले गोल गर्दै वालिङलाई पहिलो हाफमा ४–० को अग्रता दिलाईन् । कप्तान सरस्वती हमालको पासमा दमाईले अफसाइड बिट ट्याप गर्दै सहज फिनिस गरेकी थिईन् । ४९औं मिनेटमा टोेउटा नोउल्लीले गोल गर्दै वालिङलाई ५–० ले अघि बढाइन् । उनले मेथोको पासमा पेनाल्टी बक्सबाहिर दुई डिफेन्डरलाई छलाउदै गरेको भली प्रहारलाई गोलरक्षक देविका श्रेष्ठले बचाउने कुनै अवसर नै पाइनन् ।
६३औं मिनेटमा मेथोले एकल प्रयासमा व्यक्तिगत चौथो गोल गर्दै वालिङलाई ६–० को फराकिलो अग्रता दिलाईन् । ७१औं मिनेटमा मेथोले कप्तान सरस्वती हमालको लामो पासलाई नियन्त्रणमा लिदै वान भर्सेस वानको अवस्थामा सहज गोल गर्दै वालिङलाई ७–० को फराकिलो अग्रता दिलाइन् । उनको यो व्यक्तिगत पाँचौ गोल हो ।
८०औं मिनेटमा सम्झना शर्माले गोल गर्दै वालिङलाई ८–० ले अघि बढाईन् । ८२औं मिनेटमा सम्झना शर्माले व्यक्तिगत दोस्रो तथा टोलीका लागि नवौ गोल गर्दै वालिङलाई ९–० ले अघि बढाईन् । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेथोले दोहोरो ह्याट्रिक पूरा गर्दै वालिङलाई १०–० को फराकिलो जित दिलाईन् ।
जारी प्रतियोगितामा यो पहिलो दोहोरो ह्याट्रिक हो । लिगमा भने यो सातौ ह्याट्रिक हो । यसअघि नेपाल एपिएफ क्लबकी सावित्रा भण्डारीले २, आर्मीकी बिमला चौधरी, चन्द्रपुरकी सविता रानामगर र विराटनगर महानगरपालिकाकी कुसुम खतिवडाले समान एक ह्याट्रिक पुरा गरेकी थिइन् ।
यो जितसँगै वालिङको ४ खेलबाट ५ अंक पुगेको छ । चौदन्डीगढीले भने तीन खेलमा कुनै अंक जोड्न सकेको छैन ।