एजेन्सी – साविक विजेता बायर्न म्युनिखका प्रशिक्षक ह्यान्सी फ्लिकले लाजियोविरुद्ध च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग खेल्दा आफ्नो टोली फर्ममा फर्कनै पर्ने बताएका छन् । खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ ।

पछिल्लो ९ महिनामा ६ उपाधि जितेको बायर्नले क्लब विश्वकप जितेयता गत सातामा बुन्डेसलिगाका दुई खेलमा अंक गुमाएको थियो । बार्यनका दुई खेलाडी रोम भ्रमणमा हुने छैनन् । कोरेन्टिन टोलिसोन घाइते छन् भने कोभिड १९ का कारण थोमस मुलर आइसोलेसनमा छन् ।
‘म कुनै वहाना गर्ने पक्षमा छैन ,’ केहि महत्वपूर्ण खेलाडी विना उत्रनुपरेका विषयमा फ्लिकले भने, ‘म सकारात्मक छु । यो हाम्रा लागि विशेष खेल हो । टोली उच्च मनोबलका साथ उत्रने मेरो आशा छ ।’
एउटा खेलमा ३–३ को बराबरी र अर्को खेलमा २–१ को हारपछि बुन्डेसलिगाको शीर्षस्थानमा रहेको वायर्न र दोस्रो टोलीबीचको अन्तर ७ बाट २ अंकमा झरेको छ । ‘पछिल्ला केहि दिनमा के भयो हामीले राम्ररी सम्झेका छौैं,’ फ्लिकले थपे, ‘लाजियोविरुद्ध उत्रदा सुरुबाटै टोली उच्च प्रदर्शन होस् । सुरुवातबाटै कसरी राम्रो खेल्ने भन्ने पनि हामीलाई थाहा छ ।’
फ्लिकले च्याम्पियन्स लिगको सुरुवात गर्दा टोली उच्च लयमा रहेको देखिनुपर्ने बताएका छन् । ‘तर पछिल्ला केहि साता हामीले धेरै खेल्यौं,’ उनले थपे, ‘जसले केहि कठीन भएको छ । हामीलाई केहि खेलाडीको साथ रहने छैन ।’
लाजियो र बायर्न पहिलो पटक आमनेसामने हुँदैछन् । यद्दपी जर्मन क्लबविरुद्धको ६ खेलमा इटालियन क्लबले १ खेल मात्र गुमाएको इतिहास छ । च्याम्पियन्स लिग अन्तिम १६ को अर्को खेलमा एट्लेटिको म्याड्रिड र चेल्सी बीच प्रतिस्पर्धा हुनेछ ।