एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टोलीले अझै गोल गर्ने क्षमता बढाउनु पर्ने बताएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन टोली बरुसिया मोन्चेनग्लाडवाचलाई २–० ले हराएपछि ग्वार्डिओलाले यस्तो भनेका हुन् ।

प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले जर्मन क्लबमाथिको जितपछि लगातार १९ खेलमा जित हासिल गरेको छ । ग्वार्डिओलाले पहिलो पटक टोलीलाई च्याम्पियन्स लिग उपाधि दिलाउने अपेक्षा पनि गरिएको छ ।
बुडापेस्टमा मोन्चेग्लाडवाचलाई हारएपछि टोलीले अघिल्लो चरणको पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो लेगमा अग्रता दिलाउन बेर्नाडो सिल्भा र गाब्रियल जिससले गोल गरेका थिए ।
‘समग्रमा हामीले खेल नियन्त्रणमा राखेका थियौं । तर दुर्भाग्य हामीले अझै फरवार्ड लाइनबाट सोचे जसरी गोल निकाल्न सकेनौं,’ उनले भने ।
‘यो प्रतियोगितामा हामीले त्यहि फरवार्ड लाइनमा सुधार गर्नुपर्ने हुन्छ । गोल गर्ने क्षमतालाई बढाउनुपर्ने हुन्छ । हामीले यो प्रतियोगितामा आफूलाई बलियो रुपमा प्रस्तुत गर्नुपर्दछ ।’
२९ औं मिनेटमा सिल्भाले हेड गोलमार्फत टोलीलाई अग्रता दिलाएका थिए । जाओ कानसेलोको क्रसमा सिल्भाले गोल गरेका थिए । सिल्भा र कानसेलोकै समन्वयमा निकालेको बलमा जिससले ६५ औं मिनेटमा गोल गर्दै टोलीको अघिल्लो चरणको यात्रा सम्भावनालाई बलियो बनाएका थिए ।
४३ वर्षमा मोन्चेनग्लाडवाच पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रतिस्पर्धा गरिरहेको छ । मार्च १६ मा हुने दोस्रो लेगमा कुनै चमत्कार गर्न सके मात्र टोली अघिल्लो चरण बढ्ने सम्भावना रहन्छ ।