एजेन्सी – रियल म्याड्रिडका कासेमिरोले एट्लान्टाविरुद्धको च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग गुमाउने भएका छन् । पहिलो लेगमा बुधबार पहेंलो कार्ड पाएका उनी अर्को लेगका लागि प्रतिबन्धमा हुनेछन् ।

युरोपियन च्याम्पियनसिपमा उनको यो तेस्रो पहेंलो कार्ड हो । डुभान जापाटालाई फाउल गरेपछि कासेमिरोले पहेंलो कार्डको दर्शन गर्नु परेको थियो । त्यसअर्थ उनी एट्लान्टा एस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा आउँदा कासेमिरो टोली बाहिर हुनेछन् ।
उनको अनुपस्थितिले प्रशिक्षक जिनेदिन जिदानको भने टाउको दुखाई बढेको छ । यसै पनि करिम बेन्जेमा, सर्जियो रामोस, मार्सेलोलगायतका खेलाडी घाइते छन् । होल्डिङ मिडफिल्डमा कासेमिरोको तयार विकल्प जिदानसँग छैन ।
उनले टोनी क्रुस र फेडे भाल्भार्डेलाई विकल्पका रुपमा प्रस्तुत गर्नुपर्ने हुन सक्छ । बुधबार भ्रमणकारी टोलीमा पहेलो कार्ड पाउने कासेमिरो मात्रै छैन । उनीसँगै एट्लान्टाका रेने फ्रुएलर दोस्रो लेगमा हुने छैनन् । उनले खेलको पहिलो हाफमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
पहिलो लेगमा रियलले एट्लान्टालाई १–० ले हराएको थियो । एटलान्टाको मैदानमा रियलका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । लुका मोड्रिचको पासमा उनले गोेल गरेका थिए ।
फरवार्ड बेन्जेमाविना उत्रिएको रियलले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि फिनिसिङमा चुकेको थियो । एटलान्टाले भने आक्रमणमा कमजोर प्रदर्शन गर्यो । १० खेलाडीमा सिमित भएपछि एटलान्टा खेल अवधिभर दबाबमा रह्यो ।
अन्तिम समयमा गोल खाएपछि अब एटलान्टालाई अर्को चरणमा पुग्न कठिन चुनौतीको सामना गर्नुपर्ने छ छ । रियलले क्वार्टरफाइनल पुग्नका लागि दोस्रो लगेमा बराबरी गरे मात्र पुग्छ ।