काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल इतिहासमै राष्ट्रिय महिला टोलीका लागि विदेशी प्रशिक्षक नियुक्त गरेको छ ।

यसअघि एन्फाकै प्राविधिक निर्देशक रहेका अष्ट्रेलियन गेरी फिलिप्सलाई एन्फाले महिला टोलीको नयाँ प्रशिक्षक नियुक्त गरेको हो । गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पराजित भएपछि नैतिकताको जिम्मेवारी भन्दै राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यसयता महिला टोली प्रशिक्षक विहिन थियो ।
केहि महिना अघि पुरुष सरह पारिश्रमिक तय गरेको एन्फाले बिहीबार महिला टोलीका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको हो । महिला र पुरुष टोलीका खेलाडीले अहिले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।
पछिल्लो समय प्राविधिक निर्देशकको रूपमा कार्यरत फिलिप्सले अब महिला टोलीको जिम्मेवारी सम्हाल्नेछन् । एन्फा र फिलिप्सबीच डिसेम्बरको अन्त्यसम्म सम्झौता रहेको छ । उनी अष्ट्रेलिया पूर्व फुटबल खेलाडी हुन। सिडनी ओलम्पिक्स र ब्रिसबेन स्ट्राइकरसबाट उनले खेलेका थिए ।
खेल जीवन पछि फिलिप्सले विभिन्न आठ क्लबमा प्रशिक्षकको भुमिका निभाएका छन। सन २०१९ देखि भने उनी एन्फाको टेक्निकल निर्देशकको रूपमा कार्यरत थिए ।
एन्फाले छिट्टै महिला टोलीको बन्द प्रशिक्षण सुरू गर्ने जनाएको छ । साफ महिला च्याम्पियनसिप र एएफसी उमन्स एसियन कप क्वालिफायरको तयारीका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा एन्फा रहेको छ ।