धनकुटा (हाम्रो खेलकुद)– राजारानी वडा नं ६ र बसन्तटार वडा नं ८ धनकुटामा जारी चौबिसे रनिङ फुटबल प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको क्वार्टरफाइनलमा कुरुले वडा नं ४ लाई ५–० ले हराउँदै राजारानी र बोधे वडा नं ५ लाई ३–२ ले हराउँदै बसन्तटार अन्तिम चारमा पुगेका हुन् ।
राजारानीलाई जित दिलाउन आशिष लिम्बुले ह्याट्रिक तथा रविन लिम्बु र खेमराज विकले समान १ गोल गरे । १९ औं मिनेटमा रविनले गोल गर्दै टोलीलाई अघि बढाए । आशिषले ४७ औं, ५४ औं र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
चौथो तथा अन्तिम क्वार्टरफाइनलमा किष्मत लिम्बुको २ र सुनिल मगरको १ गोलमा बसन्तटारले जित हासिल गरेको थियो । खेलमा अग्रता बने बोधेले मौसम लिम्बुको गोलबाट २७ औं मिनेटमा गरेको थियो । किष्मतले ४० औं मिनेटमा बराबरी गोल फर्काए ।

सुनिलले ५८ औं मिनेटमा गोल गर्दा बसन्तटारले अग्रता बनायो । तर मौसमले ७१ औं मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा पुर्याए । किष्मतले इन्जुरी समयको पहिलो मिनेटमा अर्को गोल गर्दै नतिजा आफ्नो टोलीको पक्षमा पारे ।
पहिलो खेलमा राजारानीका अशिष लिम्बु र दोस्रोमा किष्मत लिम्बु म्यान अफ द म्याच घोषित भए । दुवैले समान १ हजार ५ सय प्राप्त गरे । उनीहरुलाई चौबिसे गाउँपालिका वडा नं ५ का अध्यक्ष पदम देवान, वडा नं ६ का अध्यक्ष दानसिंह राई र वडा नं ८ का अध्यक्ष धनबहादुर लिम्बुले पुरस्कृत गरे ।