चितवन (हाम्रो खेलकुद) – बुटवल उपमहानगरपालिका भेट्रान्स बुटवल र कालभैरव भेट्रान्स हेटौंडा चितवनको भरतपुरमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कप फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।

बुटवलले कैलाली भेट्रान्सलाई २–० ले र कालभैरवले चावहिल भेट्रान्स काठमाडौंलाई २–० ले हराउँदै एक अर्कासँगको भेट पक्का गरेका थिए ।
भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा भएको पहिलो सेमिफाइनलको ३६ औं मिनेटमा बुटवलले उपहार गोलबाट अग्रता लियो । कैलालीका विजय श्रेष्ठ बल क्लियर गर्न खोज्दा आत्माघाती गोल गर्न पुगे । लगत्तै खेलको ३७ औं मिनेटमा भरत कुँवरले गोल गरेपछि बुटवलको अग्रता दोब्बर बनायो ।

दोस्रो सेमिफाइनलमा नरेश थापाले १० औं मिनेटमा र कप्तान कृष्ण मलाकारले ३० औं मिनेटमा गोल गरेपछि हेटौडा २–० ले विजयी भएको थियो ।
प्रतियोगिताको फाइनल शनिबार हुनेछ । चितवन भेट्रान्स क्लबले आयोजनामा जारी प्रतियोगिताले उपाधिसहित १ लाख ५१ हजार र दोस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।