धनकुटा (हाम्रो खेलकुद)– राजारानी वडा नं ६ र मुढेबास वडा नं २ चौबिसे रनिङ फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

राजारानीले शुक्रबार मोनाबुधक वडा नं ७ लाई टाइब्रेकरमा ४–२ ले र मुढेबासले बसन्तटार वडा नं ८ लाई १–० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा राजारानी विजयी भएको थियो । टाइब्रेकरमा राजारानीका आशिष लिम्बु, दिल लिम्बु, शुसिल लिम्बु र खेम बिकले गोल गरे । मोनाबुधुकका लागि शंकर लिम्बु र सूर्य लिम्बुले गोल गरे । अनिल तामाङ र विशाल लिम्बुले गोल गर्न सकेनन् ।

रोशन खुलाल मगरको गोलमा दोस्रो सेमिफाइनलमा मुढेबासले बसन्तटारलाई हराएको थियो । ४३ औं मिनेटमा रोशनले गरेको गोल नै मुढेबासका लागि फाइनल पुग्न पर्याप्त रह्यो ।
पहिलो सेमिफाइनलमा राजारानीका रविन लिम्बु र दोस्रोमा रोशन खुलाल मगर खेलको म्यान अफ दी म्याच घोषित भए । उनीहरुले समान १ हजार ५ रुपैयाँ प्राप्त गरे । दुवैलाई चौबिसे गाउँपालिकाकी उपाध्यक्ष यज्ञकुमारी रुचालले पुरस्कृत गरिन् । फाइनल शनिबार हुनेछ ।