एजेन्सी – रियल म्याड्रिडका लागि केहि सुखद खबर सार्वजनिक भएको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र कप्तान सर्जियो रामोसबीच छलफलले रक्षकको सम्झौता नविकरणका विषयमा निरन्तरता पाएको छ ।

रियलको पहिलो प्रस्तावलाई रामोसले अस्वीकार गरेपछि अध्यक्षसँगको व्यक्तिगत सम्बन्धका आधारमा उनीहरुबीच छलफलले निरन्तरता पाएको हो । अध्यक्ष र कप्तानबीच मंगलबार भेट भएपछि उनको सम्झौता नविकरण हुने सम्भावना बढेको आंकलन गरिएको छ ।
छोटो कुराकानीपछि दुवै जना खुसी देखिएको बताइएको छ । यद्दपी सम्झौता नविकरणका विषयमा कुनै पनि विषय बाहिर आएको छैन । कोभिड १९ पछि रियलले खेलाडीको पारिश्रमिकमा कटौती गरेको थियो ।
अन्य क्षेत्रमा जस्तै कोभिड १९ को महामारीका फुटबलमा पनि असर गरेको थियो । रामोसले सुरुमा उच्च पारिश्रमिक र ३ वर्षको सम्झौता नविकरणको माग राखेका थिए । तर पेरेजले त्यसमा स्वीकार गरेनन् । तर, अहिले पनि भने परिस्थिति बदलिएको छ ।

अहिले चोटका कारण रामोस मैदान बाहिर रहँदै आएका छन् । उनले मैदानमा पूनरागमन गर्नुअघि नै क्लबसँगको असमझदारी हट्ने र नयाँ सम्झौताको सहमति बन्ने विश्वास गरिएको छ । मार्च १६ मा एट्लान्टाविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअघि उनीहरुबीच पुनः छलफल हुने विश्वास गरिएको छ ।
रियलले फेरि आफ्नो प्रस्ताव ल्याउने अनुमान गरिएको छ । अहिलेसम्म अर्को क्लबको प्रस्तावलाई पनि रामोसले स्वीकार गरेका छैनन् । गएको डिसेम्बरदेखि उनी अन्य क्लबसँग छलफलका लागि उपलब्ध भइसकेका छन् ।