एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्मन मिडफिल्डर सर्ज जिनाब्री चम्किएपछि जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले सहज जित हात पारेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले कोल्नमाथि ५–१ को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले समान दुई गोल गर्दा इरिक म्याक्सिम चुपो मोटिङले एक गोल गरे । कोल्नका इलएस शेकहिरीले एक गोल फर्काए ।
खेलको छैटौ मिनेटमा नै इरिक म्याक्सिम चुपो मोटिङको गोलबाट बायर्नले अग्रता लिएको थियो । ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

४९औं मिनेटमा इलएसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६५औं मिनेटमा थोमस मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न खेलमा ३–१ ले अघि बढ्यो । त्यसपछिको दुवै गोल सर्ज जिनाब्रीको नाममा रह्यो ।
८२औं मिनेटमा जिनाब्रीले टोलीका लागि चौथो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो । त्यसको चार मिनेटपछि जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ५–१ को सानदार जित दिलाए ।
यो जितसँगै बायर्नले शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ । बायर्नको २३ खेलबाट ५२ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ५० अंक छ । पराजित कोल्न २१ अंक जोडेर १४औं स्थानमा रहेको छ ।