एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा ३–१ को हार चखाएको छ ।

आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन जित निकालेको हो । आर्सनलको जितमा डेभिड लुइज, एलेक्सान्डर लाकाजेट र निकोलस पेपेले गोल गरे । युरी टिलेमान्सको गोलमा लेस्टरले अग्रता लिएपनि अंक जोड्न भने सकेन ।
किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली लेस्टरले युरी टिलेमान्सको गोलबाट अग्रता लिएको थियो । ३९औं मिनेटमा डेभिड लुइजले विलियनको पासमा गोल गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ५२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।
यो जितसँगै आर्सनल २६ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित लेस्टर ४९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।