एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चिइसाको गोलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा स्पेजियालाई ३–० ले पराजित गरेको छ ।

घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्वभ भएको थियो । प्रतिस्पर्धात्मक खेलको ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए ।
७१औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेट बाँकी रहँदा रोनाल्डाले रोड्रिगो बेन्टानकरको पासमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै तेस्रो स्थानमा रहेको युभेन्टसले शीर्षस्थानमा रहेको इन्टर मिलान र एसी मिलानसँगको अंक दुरी छोट्याएको छ । समान २४ खेलबाट युभेन्टसको ४९ अंक रहेको छ । इन्टर मिलानको ५६ तथा मिलानको ५२ अंक छ । पराजित स्पेजिया २५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।