एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि ४–१ को सानदार जित निकालेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीको सहज जितमा रियाद महारेजले एक गोल थप्दा अर्काे एक गोल उपहार पाएको थियो । वल्भ्सका कोनर कोडेले एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा लिएन्डर डिनडेन्करको आत्मघाती गोलबाट सिटीले खेलमा १–० को अग्रता लिएको थियो । ४४औं मिनेटमा एमेरिक लापोर्टाले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

६१औं मिनेटमा कोनर कोडेले जोओ मौटिन्होको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अन्तिम १० मिनेटमा सिटीले ३ गोल थप्दै सहज जित निकाल्न सफल भयो । ८०औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए ।
९०औ मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै सिटीलाई ४–१ को सहज जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २७ खेलबाट ६५ अंक पुगेको छ । सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई १५ अंकले पछि पारेको छ । युनाइटेडको ५० अंक छ । पराजित वल्भ्स ३४ अंक जोडेर १२औं स्थानमा छ ।