एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा सेभियाको आतिथ्यता गर्दैछ ।

खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोना घरेलु मैदानमा सेभियालाई हराउदै फाइनल पुग्ने दाउमा हुनेछ ।
बार्सिलोनालाई फाइनल प्रवेशको लागि कम्तीमा पनि ३–० को जित आवश्यक छ । २–० को जित निकालेको खण्डमा खेल अतिरिक्त समयमा लम्विनेछ । १–० को जित, बराबरी र हारले बार्सिलोना सेमिफाइनलबाटै बाहिरिनेछ । सोही कारण बार्सिलोना घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।
टोलीसँग कप्तान लियोनेल मेस्सीको साथ रहेको छ । चोटपछि फर्किएका औसमाने डेम्वेले पनि टोलीमा रहनेछन् । सर्जिनो डेस्ट, फ्रान्की डि जोङ, पेड्री, जोर्डी अल्वा, सर्जियो बुस्क्वेट्स, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके र गोलरक्षक मार्क आन्दर टेर स्टेगन टोलीमा छन् ।
यता, सेभिया पनि बार्सिलोनालाई हराउदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । पहिलो लेगमा २–० को जित निकालेको सेभिया सोही जितलाई निरन्तरता दिने दाउमा हुनेछ । सेभियालाई फाइनल पुग्न यही नतिजा नै पर्याप्त हुनेछ । तर टोली बार्सिलोनाविरुद्ध जितको लागि मैदान उत्रनेछ ।
टोलीसँग युसेफ इन न्यास्री, मुनिर इल हाडाडी, सुसो, इभान राकिटिच, फर्नान्डो, जोन जोर्डन, डिएगो कार्लाेस, जुलेस कोन्डे, जेसस नाभास र गोलरक्षक यासिन बोनोउको साथ रहेको छ ।
पछिल्लो पटक बार्सिलोनाले सेभियालाई २–० ले हराएको थियो ।