काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबको महिला फुटबल टोलीका ४ खेलाडी पाकिस्तानको महिला लिग खेल्न शुक्रबार त्यसतर्फ जाने भएका छन् ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता राना पाकिस्तान महिला लिग खेल्न जान लागेका हुन् । फागुन ७ गते सम्पन्न महिला राष्ट्रिय लिगमा एपिएफ च्याम्पियन हुँदा सरु सर्वोत्कृष्ट खेलाडी चुनिाएकी थिइन् ।
बिहीबार बिहान भिसा प्रक्रिया सुरु गरेका चारै जनाको भिसा प्राप्त भइसकेको छ । खेलाडीहरु शुक्रबार साँझ ७ बजे दुबई हुँदै कराँची प्रस्थान गर्ने कार्यक्रम छ । उनीहरु सबैले मासा युनाइटेड एफसीबाट खेल्नेछन् ।
महिलातर्फ एपिएफकै सावित्रा भण्डारी र अनिता बस्नेतलाई मात्र विदेशी लिग खेलेको अनुभव छ । दुई वर्षअघि सावित्रा र अनिता सम्मिलित सेथुले आइ लिग जितेको थियो । गत वर्ष भने सावित्रा सम्मलित गोकुलमले आइ लिग जित्दा उनी लिगको सर्वोच्च गोलकर्ता बनेकी थिइन् । चोटका कारण यसपटक सावित्राले भने कुनै पनि प्रतियोगिता खेल्ने छैनन् ।
मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने लिगको विजेताले १० लाख पाकिस्तान रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।