एजेन्सी – चिलियन फरवार्ड एलेक्सिस सान्चेजको दुई गोल मद्दतमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा पार्मा काल्सियोलाई २–१ ले पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टोलीका हर्नानीले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५४औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टर मिलानलाई १–० को अग्रता दिलाए ।
६२औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा हर्नानीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै खेलमा फर्कने संकेत लिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।

जितपछि इन्टरले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । इन्टरको २५ खेलबाट ५९ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ५३ अंक छ । पराजित पार्मा १५ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।