एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) कप दि फ्रान्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम ३२ को खेलमा लिग वान प्रतिद्धन्द्धी ब्रेस्टमाथि ३–० को सहज जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो ।
ब्रेस्टमा शनिबार राति भएको खेलमा पीएसजीको सहज जितमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेले दुई तथा पाब्लो सारावियाले एक गोल गरे ।
खेलको नवौं मिनेटमा एमबाप्पेको गोलबाट पीएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भयो । उनले मार्काे भेराट्टीको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा पाब्लो सारावियाले जुलियन ड्राक्सलरको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
७४औं मिनेटमा एमबाप्पेले मार्काे भेराट्टीकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए ।
अर्काे खेलमा लियोनले सोसुकमाथि ५–२ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । लियोनको जितमा रायन चेर्कीले दुई तथा बेनलामरी, म्याक्सवेल कर्नेट र जासोन डिनाएरले गोल गरे । सोसुकका क्रिस बेडियाले दुई गोल गरेपनि टोलीलाई जिताउन सकेन ।