एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दा लिभरपुलले फुलहमको तथा टोटेनहमले क्रिस्टल प्यालेसको सामना गर्दैछ ।

अर्काे खेलमा वेस्ट ब्रम र न्यु क्यासलबीच प्रतिस्पर्धा हुदैछ । सिटी र युनाइटेडबीचको खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । शीर्षस्थानमा १२ अंकको अग्रता लिएको सिटी युनाइटेडलाई हराउदै आफ्नो शीर्षता थप मजवुत बनाउने लक्ष्यमा हुनेछ ।
सिटीको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको २८ खेलबाट ५३ अंक रहेको छ । युनाइटेडलाई हराउन सके सिटीले शीर्षस्थानमा १५ अंकको अग्रता कायम गर्नेछ ।
पछिल्लो २८ खेलसम्म अपराजित रहेको सिटी सोही अपराजित यात्रालाई कायम राखे दाउमा हुनेछ ।
यसक्रममा सिटीले २५ जित र ३ बराबरीको नतिजा निकालेको छ । गत नोभेम्वरमा टोटेनहमसँग २–० ले पराजित भएयता अपराजित रहेको सिटीले वेस्ट ब्रमसँग १–१ गोलको बराबरीपछि २१ खेलमा शतप्रतिशत जित निकालेको छ ।
टोलीसँग केभिन डि ब्रुयन, रहिम स्टर्लिङ, रियाद महारेज, फिल फोडेन, बर्नाडो सिल्भा, रोड्री, इल्केए गुन्डोगान, ओलेक्सान्डर जिनचेन्को, जोन स्टोन्स, रुवेन डियास, जोओ क्यान्सिलो, गाब्रियल जेसस, एमेरिक लापोर्ट, केएल वाल्कर र गोलरक्षक इडर्सन मोराएसको साथ रहेको छ ।
यता, युनाइटेड पनि सिटीलाई हराउदै दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । सिटीलाई हराउन सके युनाइटेडले लेस्टर सिटीलाई पछि पार्नेछ । युनाटेडको २७ खेलबाट ५१ अंक छ ।
टोलीसँग इडिन्सन काभानी, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस, ड्यानियल जेम्स, फ्रेड, स्कट म्याकटोमिने, लुका सा, ह्यारी मगाएर, भिक्टर लिन्डेलफ, आरोन वान बिशाखा र गोलरक्षक डि हेन्डरसनको साथ रहेको छ ।
पछिल्लो १० खेलसम्म अपराजित रहेको युनाइटेडले पछिल्लो तीन खेलमा जित निकाल्न सकेको छैन । युनाइटेडले युरोपा लिगमा रियल सोसिडाड, प्रिमियर लिगमा चेल्सी र क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेका थिए ।
यि दुई टोलीको पछिल्लो २९ खेलको नतिजामा सिटी १३ खेलमा विजयी भएको छ । १२ खेल युनाइटेडले जित्दा ४ खेल बराबरीमा सकिएको छ । सोही कारण पनि सिटी र युनाइटेडबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सिटीले पछिल्लोपटक युनाइटेडलाई २–० ले पराजित गरेको थियो ।
अन्य खेल
वेस्ट ब्रमविरुद्ध न्युक्यासल (साँझ ५ः४५ बजे), लिभरपुलविरुद्ध फुलहमे (राति ०७ः४५ बजे), टोटेनहमविरुद्ध क्रिस्टल प्यालेस (राति १ः०० बजे)