एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार म्याड्रिड डर्बीमा घरेलु टोली एट्लेटिको म्याड्रिड र शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडले अंक बाँडेका छन् ।

बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेजको गोलमा एट्लेटिकोले १-० को अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदा बराबरी खेलेको हो । सुआरेजले खेलको १५ अौं मिनेटमा गोेल गरेका थिए । उनले रियल म्याड्रिडका पूर्व खेलाडी मार्कोस लोरेन्टेको पासलाई गोलमा परिणत गरेका थिए ।
खेलको २ मिनेट समय बाँकी रहँदा करीम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए । एट्लेटिकोले बल पोसेसन गुमाएपछि अघि बढेको आक्रमणमा बेन्जेमाले क्यासेमिरोसँग वन-टु पास खेल्दै सहज गोल गरे ।
यस बराबरीपछि एट्लेटिको २५ खेलमा ५९ अंकसहित शीर्षस्थानमा कायम छ । दोस्रो स्थानमा रहेको बार्सिलोना २६ खेलमा ५६ तथा रियलको २६ खेलमा ५४ अंक रहेको छ ।