काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजनमा पहिलो हार बेहोरेको छ ।

एन्फा कम्प्लेक्सका सोमबार भएको लिगको १०औं चरणको खेलमा सातदोबाटो मध्यपुर युथ एसोसिएसनसँग २–१ ले पराजित भएको हो । लिगको नवौं खेलसम्म सातदोबाटोले ८ जित र एक बराबरीको नतिजा निकालेको थियो ।
खेलको २९औं मिनेटमा कैलाश लामिछाने खत्रीले सन्जिव थापाको क्रसमा डाइभिङ हेडरमार्फत गोल गर्दै मध्यपुरलाई १–० को अग्रता दिलाए । ५०औं मिनेटमा माल्दिन आङथुपोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा सनी लामाले गोल गर्दै मध्यपुरलाई २–१ को जित दिलाए । उनले कप्तान रोनिस ढेके राजवहाकको पासमा गोल गरेका थिए ।
हारपछि सातदोबाटो १० खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सातदोबाटो दुई खेल अघि नै ‘बी’ डिभिजन लिग च्याम्पियन बन्न सफल भएको थियो । मध्यपुर १० खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।
लिगको दोस्रो खेलमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको पुल्चोक स्पोर्टिङ क्लबले रानी पोखरी कर्नर टिम (आरसिटी) लाई २–१ ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको छ । पुल्चोकले यसअघि ७ हार र दुई बराबरीको नतिजा निकालेको थियो ।
पुल्चोकको जितमा अर्जुन कुमार राना र किस्मत लिम्बुले गोल गरे । आरसिटीका अमर डंगोलले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा अर्जुन कुमार रानाको गोलबाट पुल्चोकले अग्रता लिएको थियो । ४३औं मिनेटमा अमर डंगोलले बराबरी गोल फर्काएका थिए । ७७औं मिनेटमा किस्मत लिम्बुले गोल गर्दै पुल्चोकलाई लिगमा पहिलो जित दिलाए ।
यो जितसँगै पुल्चोकले रेलिगेसन बचाउने सम्भावना जीवित राखेको छ । पुछारमा रहेको पुल्चोकको १० खेलबाट ५ अंक छ । ११औं स्थानमा रहेको झम्सिखेलको ६ अंक छ । लिगमा अब एक चरणको खेल बाँकी रहँदा पुल्चोकले अन्तिम खेलमा जित निकाल्न सकेको अवस्थामा र झम्सिखेल पराजित भएमा पुल्चोक रेलिगेसनबाट बच्नेछ । पराजित आरसीटी १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।