default_image

5 years ago

March 30, 2021

प्रतिबन्धले गुम्यो साग, पुनरागमनमा जोगाए देशकै साख

317 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

सन्जोक राई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उत्पादन गरेको स्वर्णिम ब्याचका सदस्य हुन् । तर एकेडेमीमा आफूसँगै खेलेका सहकर्मी राष्ट्रका लागि एक पछि अर्को उपाधि जितिरहँदा सन्जोक भने आफ्नै कारणले टोलीमा थिएनन् । एकेडेमी छाडेका झन्डै ६ वर्षपछि सन्जोकले राष्ट्रिय टोलीमा डेब्युको अवसर पाए । र दोस्रो खेलमा गोल गर्दै घरेलु मैदानमा फाइनलकै प्लेयर अफ द म्याच समेत बने ।

एक समय राष्ट्रिय फुटबलको सेरोफेरोबाट टाढिएका सन्जोक आफैंले पनि सोचेका थिएनन्, उनी राष्ट्रिय टोलीको गोलको खडेरी तोड्ने खेलाडी बन्नेछन् भनेर । फाइनलमा बंगलादेशविरुद्ध सोमबार दशरथ रंगशालामा नेपालले उपाधिको लागि खेल्दा टोलीमाथि गोल गर्नैपर्ने दबाब थियो । लिग चरणमा गोलका थुप्रै अवसर सिर्जना गरेपनि फिनिसिङमा नेपाल कमजोर रहेको थियो ।

फाइनलमा प्रशिक्षक बालगोपाल महर्जनले रणनीति परिवर्तन गरे । अघिल्ला खेलमा सेन्टर मिडफिल्डमा खेलेका सन्जोकलाई केहि माथि पठाउँदै विशाल राईलाई उनको स्थानमा ल्याए । नतिजा सन्जोकले आफ्नो क्षमता प्रस्तुत गर्दै १ गोल र १ असिस्टसँगै नेपालको गोल खडेरी मात्र तोडेनन्, उपाधि जितेको फाइनलका प्लेयर अफ द म्याच नै भए ।

खेलको १८ औं मिनेटमा सन्जोकको गोलमा नेपालले अग्रता लिएको थियो । उक्त गोल नेपालले अन्तर्राष्ट्रिय फुटबलमा ७ खेल र १८ महिनापछि गरेको थियो । सन्जोकले दोस्रो गोलका लागि पनि चलाखीपूर्ण फ्लिक पास दिँदै विशाल राईलाई गोलको अवसर सिर्जना गरिदिएका थिए ।

‘गोल गरेपछि एकदमै खुसी भएँ । प्रशिक्षकले विश्वास गर्नुभएको थियो । तर त्यसअनुसार पहिलो र दोस्रो खेलमा त्यति राम्रो हुन सकेन’, उपाधि जितेपछि सन्जोकले भने ।

‘खेलाडी भएपछि सबैको राष्ट्रिय टोलीबाट खेल्ने सपना हुन्छ । नेपालको टोलीबाट खेल्दा दबाब बढी हुने रहेछ । नयाँ खेलाडी । राम्रो भएन भने दर्शकहरुले पनि केहि भन्ने हो की डर’, उनले पहिलो डेब्यू खेल सम्झँदै भने ।

सन्जोक सिनियर खेलाडीले पनि राम्रो सहयोग गरेको बताउँछन् । ‘दाईहरुले पनि राम्रो गर भनेर सम्झाई रहनुहुन्थ्यो । किरण दाईले तिमीहरुलेनै गर्नुपर्छ र पालो तिमीहरुको नै हो भनिरहनु भएको थियो’, उनले भने ।

‘दर्शकहरुमा यो खेलाडी राम्रो छैन भन्ने थियो । त्यो गलत सावित गर्न एउटा इख पनि थियो । अब त मैले गर्नुपर्छ भन्ने मनमा लिएर फाइनलमा मैदान उत्रेको थिएँ र राम्रो पनि भयो’, सन्जोकले थपे ।

स्वर्णिम आठौं ब्याचका सदस्य

नेपालको आधुनिक फुटबलमा राष्ट्रिय टोलीले हासिल गरेको हरेक सफलतामा एन्फाको आठौं ब्याचको महत्त्वपूर्ण भूमिका रहेको छ । फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर अन्जन विष्ट र डिफेन्डर अनन्त तामाङले टिनएजमै लगातार राष्ट्रिय टोलीको पहिलो रोजाइमा खेले । त्यसपछि दीनेश राजवंशी टोलीमा जोडिए र यू-१९ राष्ट्रिय टोलीमा खेलेका तेज तामाङ पनि नियमित छन् । तेज एकेडेमीका उत्पादन होइनन्, तर उनले नेपालले सन् २०१५ को साफ च्याम्पियनसिप उपाधि जित्दा मिडफिल्ड सम्हालेका थिए । उक्त ब्याचका सुरुवाती कप्तान हेमन्त थापामगर पनि टोलीको वरपर नै छन् । छिरिङ गुरुङले केहि महिनाअघि डेब्यु गरे र अहिले टोलीका सदस्य छन् ।

सन्जोक फुटबल वरपर रहेपनि मुख्य अवसरमा भने सधैं आफ्नै निर्णयका कारण राष्ट्रिय टोलीको सेरोफेरोबाट बाहिर रहे । सन् २०१५ मा आफ्ना सहकर्मी साफ यू-१९ को तयारी गरिरहँदा उनले इन्डियन लाहुरेमा भिड्ने निर्णय लिए । यता नेपालले उपाधि उचाल्यो तर दुर्भाग्य सन्जोक सफल भएनन् । उनीजस्तै लाहुरेमा भर्ति हुन चाहेर सफल भएका उदाहरण पनि धेरै छन् । आठौं ब्याचकै विकास थापा, किरण सुनार, शिव सुवेदी, लगायत खेलाडी भारतीय सेनामा छन् । डिफेन्डर आकाश थापामगरले भने साफ यू-१९ जितेपछि बेलायतको लाहुरे बन्ने निर्णय गरेका थिए र उनी त्यसयता फुटबलमा फर्किएका छैनन् ।

उक्त ब्याचका अधिकांश खेलाडी अहिले पनि शीर्ष श्रेणी फुटबलमा नै व्यस्त छन् । केहिले खेल्न छाडेर लाहुरेको जागिर रोजे, त केहि फुटबल वरपर भविष्य खोजिरहेका छन् । सन्जोकका लागि लाहुरे बन्ने प्रयासमा यू-१९ साफ गुमाउनु महँगो सावित भयो । आफ्ना सहकर्मी एक पछि अर्को प्रतियोगिता खेल्दै सफलता हात पार्दा सन्जोक मोफसल फुटबलमा व्यस्त रहे । उनी फुटबलमा मिहिनेत गरे सफलता पाइन्छ भन्ने लक्ष्यसाथ अघि बढे ।

मोफसल फुटबल खेलिरहेका संजोक राजुकाजी शाक्यको प्रशिक्षकत्वमा एएफसी यू-२३ छनोटका लागि टोलीमा समावेश भए । त्यसपछि सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल युथ क्लबसँग सम्झौता गरे । लिगमा औसत प्रदर्शन गरेका उनलाई च्यासलले आफू नखेलेको प्रतियोगितामा स्थानीय टोली झापा-११ बाट खेल्न मौखिक स्वीकृति दियो । तर एक प्रतियोगितामा दुवै टोलीले खेल्ने भएपछि झापा-११ बाट खेल्दा सन्जोक समस्यामा परे । उनी र डिफेन्डर निशान खड्का च्यासलविरुद्ध नै खेल्दै जितेपछि च्यासलले एन्फामा उजुरी दियो । नतिजा एन्फाले दुवै खेलाडीलाई ६ महिना प्रतिबन्ध लगायो ।

घरेलु फुटबल खेल्न नपाएको भन्दा बढी दुख उनीहरुले तब पाए जब दुवै खेलाडीको नाम १३ औं दक्षिण एसियाली खेलकुदको प्रारम्भिक प्रशिक्षणमा परेर पनि प्रतिबन्धका कारण खेल्न पाएनन् । घरेलु मैदानमा भएको उक्त प्रतियोगिताका लागि सन्जोक र निशान टोलीमा पर्ने सम्भावना बलियो थियो । तर प्रतिबन्धका कारण एन्फाले प्रशिक्षणमा सहभागी हुन नदिएपछि उनीहरु निराश भए ।

ए डिभिजन लिगमा पनि लिगका सुरुवाती ६ खेल दुवैले गुमाए । रुस्लान थ्री स्टार क्लबले अन्तिम ७ खेलका लागि भएपनि दुवैलाई अनुबन्ध गर्यो । सुरुवाती खेलमा केहि कमजोर देखिएको थ्री स्टारले यी दुइको आगमनसँगै नतिजा पनि सुधार्यो । दुवैको प्रदर्शन राम्रो थियो र मोफसलमा पनि लय कायम नै राखे । प्रशिक्षक बालगोपाल महर्जनले दुवै खेलाडीलाई विश्वकप छनोटको तयारीमा बोलाइएको ५८ खेलाडी सम्मिलित बन्द प्रशिक्षणमा समावेश गरेपछि उनीहरुको पुनरागमन यात्रा सुरु भएको थियो ।

सन्जोकको बाल्यकाल

झापाको बिर्तामोडमा बुबा सहेन्द्र बहादुर राई आमा शान्ता कुमारी राईको माईलो सन्तानको सन्जोकको जन्म भएको हो । उनमा सानैदेखि फुटबलप्रति मोह, लगाव र रुचि थियो । उनी ८-९ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका थिए । उनलाई सानोमा बुबाले फुटबल खेल्दा साथ दिएपनि आमाले भने गाली गर्ने सन्जोक सम्झन्छन् । गाउँमा दाईहरुबाट पनि राम्रो साथ पाएको सन्जोक बताउँछन् ।

सन्जोक १२ वर्षको उमेरमा धरानस्थित एन्फा एकेडेमीमा बसेका थिए । त्यहाँ २-३ वर्ष बसेपछि काठमाडौं आएका थिए । यू-१६ उमेर समूहमा लगातार राष्ट्रिय टोलीबाट खेलेपनि त्यसपछि लाहुरे बन्ने हुटहुटिले उनलाई फुटबलबाट टाढा लागेको थियो । तर त्यसपछि लामो संघर्षपछि उनी फेरी फुटबलमा फर्किएका छन् । उनी सफलताको सबै श्रेय आफ्नो परिवारलाई दिन्छन् ।

सन्जोकले गत वर्ष थ्री स्टार क्लबमा प्रशिक्षक मेघराज केसीको नेतृत्वमा खेलेका थिए । केसी सन्जोकलाई राम्रो बेस भएको र स्कोर गर्ने पावर भएको खेलाडी बताउँछन् । ‘नेपालमा प्राय: आ–आफ्नो ठाउँबाट सिकेर आएका खेलाडी हुन्छन् । धेरैको बेस त्यति राम्रो हुँदैन । सन्जोक एउटा सानैदेखि बेस भएको खेलाडी हो । उसको मिहिनेत र बेस राम्रो भएको हुँदा यति चाँडै फुटबल टोलीमा आएर स्कोर गर्न सकेको हो’,केसीले हाम्रो खेलकुदसँग भने ।

‘उनको स्कोरिङ पावर राम्रो भएर नै हामीले टोलीमा राखेका थियौं । हामीले लिगमा बीचमा टोलीमा समावेश गरेपनि उसले राम्रो स्कोर निकालेको थियो । स्कोरिङ र बेसिक राम्रो भएर नै उनलाई टोलीमा खेल्न सहज भयो,’ केसीले आफ्नो अनुभव साटे ।

सन्जोकलाई रोहित चन्द र लिओनल मेस्सी मनपर्ने खेलाडी हुन् । दुवै खेलाडीबाट धेरै कुरा सिक्न पाएको उनले बुझेका छन् । अझ रोहितसँग आफ्नो डेब्युमा सँगै खेल्न पाउनुलाई उनले दुर्लभ अवसरको रुपमा लिएका छन् । सिनियर खेलाडी रोहित र किरण चेम्जोङले लगातार आफ्नो मनोबल बढाउने र हौसला दिइरहने उनले बताए ।

सन्जोकले राष्ट्रिय टोलीमा सुरुवात राम्रो भएपनि यसलाई निरन्तरता दिन ठूलो चुनौती हुने बुझेका छन् । ‘राष्ट्रिय टोलीमा नियमित हुन अझै मिहिनेत गर्नुपर्ने छ । फेरि परिन्छ वा परिदैन भन्ने नै पक्का छैन । मान्छेले सोच्यो र आँट्यो भने गर्न सक्ने रहेछ’, सन्जोकले भने ।

पहिलो प्रतियोगितामा धेरै सकारात्मक कुरा सिकेको सन्जोकको बुझाइ छ । घरेलु मैदानमा सुखद डेब्यु गर्ने अवसर जुरेको सन्जोकलाई अब आउने दिनमा यसै लयलाई निरन्तरता दिनु छ । त्यसका लागि के गर्नुपर्छ भन्ने आफ्नो खेल जीवनको भोगाइबाट पनि उनले सिकेका छन् ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.