default_image

3 years ago

May 21, 2021

यसपटक नरोकियोस् फुटबलमा परिवर्तन

सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसै साता विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा सामाजिक संजालमा आश्चर्य मान्ने संख्या धेरै थियो । प्रारम्भिक छनोटमा नै केहि चर्चित नामलाई विश्राम दिएका उनले समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरे । डेढ महिनाअघि पहिलो पटक सार्वजनिक रुपमा बोल्दा […]

104 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसै साता विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा सामाजिक संजालमा आश्चर्य मान्ने संख्या धेरै थियो । प्रारम्भिक छनोटमा नै केहि चर्चित नामलाई विश्राम दिएका उनले समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरे ।

डेढ महिनाअघि पहिलो पटक सार्वजनिक रुपमा बोल्दा नै आफ्नो स्पष्ट धारणा राखेका उनले टोली घोषणापछि आफ्नो छनोटबारे सामाजिक संजालमा उठेको प्रश्नप्रति निराशा जनाउँदै कारण नै खुलाए । को खेलाडी किन परेन भन्ने हरेक प्रश्नको जवाफ उनीसँग थियो । यसअघि नै नेपाल सुपर लिगको प्रदर्शनलाई आधार मानेर टोली छनोट गरेको बताएका उनले वर्तमान प्रदर्शनलाई आधार मान्दै युवा खेलाडीमा जोड दिएका छन् । उनी अहिले भन्दा पनि भविष्यलाई ध्यानमा राखेर टोली बनाइरहेका छन् । सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि बलियो टोली बनाउने उनको लक्ष्य छ ।

यसो भनिरहँदा नेपालको अहिले उपलब्ध टोली कहाँबाट आयो भन्ने प्रश्न पनि पक्कै उठ्छ । अहिले जसरी प्रशिक्षक अलमुताइरीले युवा खेलाडी छनोट गर्दै भविष्यलाई लक्षित गर्दै टोली निर्माण गरिरहेका छन्, झन्डै ६ वर्षअघि अजेम्सले नै जोखिम उठाएर निर्माण गरेको टोलीले नेपाली फुटबलकै स्वर्णिम समय सम्भव भएको थियो । त्यसबेला अजेम्स आफैंले त टोली निर्माण गरेर नतिजा दिने बेलामा आफू उपस्थित हुन सकेनन् । कारण एन्फाको कमजोर नेतृत्वले उनको योजना कार्यान्वयन नै गर्न असफल रहयो ।

अजेम्सले अगस्ट अन्तिममा राष्ट्रिय टोलीको जिम्मेवारी पाएका थिए । त्यसबेला राष्ट्रिय लिगको केहि खेल हेर्ने अवसर पाएका उनले डिसेम्बरमा हुने साफ च्याम्पियन्सपका लागि टोली तयार गर्नु थियो । ठिक त्यसैबेला म्याच फिक्सिङको आरोप लागेर तत्कालिन कप्तान सागर थापासहितका खेलाडी निलम्बनमा परे । अजेम्सले आफ्नै अगाडि नेपाल यू-१९ टोलीले साफ च्याम्पियनसिप उपाधि जितेको पनि देखे । उनको योजना प्रष्ट थियो, युवा नै भविष्य हुन् ।

युवा खेलाडी मात्र होइन, उनले आफ्नो प्रशिक्षण टोलीमा युवा टोलीमा नै काम गरिरहेका प्रशिक्षकलाई रोजे । त्यसबेला यू-१९ टोलीका प्रशिक्षक रहेका बालगोपाल महर्जन, यू-१६ टोलीका उपेन्द्रमान सिंह र यू-१४ टोलीका प्रशिक्षक हरि खड्कालाई उनले टोलीमा राखेका थिए । एक त खेलाडीबारे राम्रो जानकारी राख्ने र आफूसँग काम गर्दा युवा टोलीले पनि राष्ट्रिय टोलीकै रणनीतिमा खेल्दा खेलाडी उत्पादनमा सहज हुने उनको बुझाई थियो ।

अजेम्सले व्यक्तिगत प्रयासमा नै केहि खेलाडीसँग विदेशी क्लबमा प्रशिक्षणको व्यवस्था गर्ने समेत प्रयास गरेका थिए । राष्ट्रिय टोलीको प्रशिक्षणका लागि पनि उनको योजना थियो । तर एन्फा नेतृत्वसँग राम्रो सम्बन्ध रहन नसक्दा उनले आफ्नो योजना कार्यान्वयन गर्न सकेनन् । एक महिना प्रशिक्षण गरेर साफ च्याम्पियनसिप खेल्न पुगेको नेपाली टोली केरलामा भएको प्रतियोगितामा समूह चरणबाट नै बाहिरियो ।

अजेम्सले एन्फासँग ६ महिनाको सम्झौता गरेका थिए । उनले टोलीलाई साफ च्याम्पियनसिप र १२ औं सागसम्म हेर्ने प्रारम्भिक योजना थियो । तर भारतमा साफ च्याम्पियनसिप चलिरहँदा फ्रान्समा उनको श्रीमती गम्भिर बिरामी परिन् । उनले प्रतियोगिता सकेर मात्र त्यसतर्फ जाने योजना बनाए । व्यक्तिगत रुपमा समस्या हुँदा उनले टोलीको हारपछि नेपाल फर्केर सिधै फ्रान्स जाने निधो गरे । त्यसैअनुसार एन्फा नेतृत्वसँग पनि उनको छलफल थियो ।

Nepal Coach Patrick Aussems

आफू नहुँदा पनि प्रशिक्षण टोलीलाई कार्यतालिका बनाएर गएका उनलाई एन्फाले त्यसपछि सम्पर्क नगरी आफैं निर्णय लियो । प्रशिक्षक अजेम्सको सम्झौता बाँकी रहँदै एन्फाले उनलाई सल्लाह नगरी बालगोपाल महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको बतायो । अजेम्सले आफू पारिवारिक समस्या भएका कारण सिधै बंगबन्धु कपमा बंगलादेश आउने बताइरहँदा एन्फाले भने उनको आग्रह स्वीकार गरेन । अजेम्सले एन्फाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक संजालमार्फत नै आफू नफर्कने बताए ।

अजेम्स आफू त नेपाल फर्किएनन् तर उनको योजनामा नै आधारित रहेर नेपालले त्यसपछि राम्रो सफलता हासिल गर्यो । अजेम्सकै ४-३-३ को रणनीतिमा आधारित रहेर प्रशिक्षक महर्जनले नेपाललाई बंगबन्धु गोल्डकप जिताए । महर्जन आफैं यू-१९ टोलीको प्रशिक्षक रहेको र अधिकांश खेलाडी त्यसै टोलीको रहेकाले थप सहयोग पुगेको थियो । त्यसबेला राष्ट्रिय टोलीको औसत उमेर २१.१२ वर्ष रहेको थियो, अहिलेको २३.४ भन्दा निकै कम । सोहि टोलीका अधिकांश खेलाडी अहिले पनि राष्ट्रिय टोलीमा नियमित छन् ।

त्यसको अर्को महिना नेपालको यू-२३ टोलीले राजुकाजी शाक्यको नेतृत्वमा स्वर्ण पदक जित्यो । प्रशिक्षक फेरिएपनि नयाँ स्वरूपको टोलीले लगातार सफलता हासिल गर्यो । प्रशिक्षक अजेम्सकै समयमा नवयुग श्रेष्ठले राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए । उनी नै साग र बंगबन्धुमा मुख्य खेलाडी सावित भए । अन्जन विष्ट, विमल घर्ती मगर र अनन्त तामाङले विदेशी प्रशिक्षणका दौरान फ्रान्सको ट्रोएसमा केहि समय प्रशिक्षण गर्ने अवसर उनै अजेम्सले जुराएका थिए ।

अजेम्सको नाम प्रत्यक्ष रुपमा नेपाली फुटबलको इतिहासमा भेट्न गाह्रो पर्छ । कारण उनको नेतृत्वमा खेलेको प्रतियोगितामा नेपालले नतिजा निकालेन । तर अझैपनि राष्ट्रिय टोलीमा रहेका खेलाडी र प्रशिक्षक उनको प्रशंसा गर्न कन्ज्युस्याई गर्दैनन् । उनले नै नेपाली फुटबलमा एक आधार खडा गरेका थिए । छोटो समयमा नै उनले आफ्नो प्रभाव छाडे, अझ आफ्नो सम्झौताको पूरा समय बसेको भए अझ राम्रो हुन सक्थ्यो ।

अहिले प्रशिक्षक अलमुताइरी फेरी अर्को परिवर्तनका संवाहकका रुपमा योजना अघि सरेका छन् । उनको योजना र लक्ष्य सुन्दा सकारात्मक हुने धेरै पक्ष छन् । युवा खेलाडीलाई अवसर दिने यो ठीक समय हो । अहिलेको मैत्रीपूर्ण खेल र विश्वकप छनोट नेपालका लागि नयाँ पुस्तालाई ठाउँ दिने राम्रो अवसर हो । अहिलेको अनुभवले साफ च्याम्पियनसिपसम्म राम्रो गति पकड्न सक्छन् ।

प्रशिक्षकका रुपमा मात्र होइन, अलमुताइरीको व्यक्तिगत प्रोफाइल पनि नेपालको लागि फलदायी हुन सक्छ । उनको एसियाली राष्ट्रहरुसँगको सम्बन्धले नेपालले लामो समयसम्म फाइदा लिन सक्छ । यसअघि उनी कार्यरत किर्गिस्तानको टोलीले नेपालमा थ्री नेसन्स कप खेल्न आउनु र नेपालले इराकसँग मैत्रीपूर्ण खेलको निमन्त्रणा पाउनुमा पनि उनको विशेष भूमिका थियो । समय बढ्दै जाँदा टोलीका लागि मात्र होइन, खेलाडीको व्यक्तिगत विकासमा पनि यसले टेवा पुग्न सक्छ ।

प्रशिक्षक अलमुताइरीले यसअघि नै एन्फासँग सम्बन्धबारे प्रश्नमा संघ निकै सकारात्मक रहेको बताएका छन् । एन्फा पदाधिकारीसँग नियमित टोलीको तयारीबारे छलफल भएको र राम्रो साथ पाएको उनले जनाएका छन् । एन्फाले उनको योजनाअनुसार नै अहिलेसम्म त कार्यान्वयन गरेको देखिन्छ । कोरोनाका कारण अब केहि समय घरेलु फुटबल शून्य रहनेछ । यस्तो अवस्थामा विगतमा जस्तै राष्ट्रिय टोलीको नियमित तयारी गर्ने प्रशिक्षकको योजना छ ।

यसअघि अजेम्सको पालामा चुकेको जस्तो, यसपटक एन्फा नचुकोस् । ठूलो लक्ष्य लिएर योजनासहित आएका प्रशिक्षकलाई एन्फाले राम्रो समन्वय गरोस् । अलमुताइरीले भनेझैं, ‘आज नतिजा नआउला । तर अबको केहि वर्षमा नतिजा आउने नै छ । म प्रशिक्षक नरहेपनि, अरु प्रशिक्षकसँग आउनेछ ।’ अजेम्स आफू गएपनि नतिजा नेपालले ल्यायो, त्यस्तै अलमुताइरी नरहेपनि नतिजा त ल्याउला । तर उनी रहुन्जेल एन्फाले उनले चाहेको वातावरण भने दिनुपर्छ । कम्तिमा साफ च्याम्पियनसिपसम्मका लागि ।

यो लेख अंग्रेजीमा पनि पढ्न सक्नुहुन्छ

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.