default_image

3 years ago

June 11, 2021

नेपाल विरुद्ध अष्ट्रेलिया : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्व कप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्दैछ । खेलको प्रत्यक्ष प्रसारण रातको ९:४५ बजे कान्तिपुर टेलिभिजनले गर्नेछ । अष्ट्रेलिया नेपालभन्दा निकै बलियो टोली हो । विश्वकप छनोटमा शत प्रतिशत जित हासिल गरेको अष्ट्रेलिया नेपाललाई पराजित गर्दै एसियन […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्व कप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्दैछ । खेलको प्रत्यक्ष प्रसारण रातको ९:४५ बजे कान्तिपुर टेलिभिजनले गर्नेछ ।

अष्ट्रेलिया नेपालभन्दा निकै बलियो टोली हो । विश्वकप छनोटमा शत प्रतिशत जित हासिल गरेको अष्ट्रेलिया नेपाललाई पराजित गर्दै एसियन कपमा स्थान पक्का गर्न चाहन्छ । नेपाल भने एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन आजको खेलमा जितको आशामा हुनेछ । तर अन्य समूहको नतिजाले पनि त्यसमा असर पर्ने हुनाले यो सहज छैन ।

२० महिना अघि नेपाली टोली अष्ट्रेलिया पुगेर खेलेको थियो । जसमा नेपाल ५–० ले पराजित भएको थियो । समूहमा रहेका जोर्डन, चाइनिज ताइपे र कुवेतसँग पनि नेपालले अवे खेल खेलिसकेको थियो । बाँकी ४ खेल त्रिपुरेश्वर दशरथ रंगशालामा हुने तय थियो । कुवेतसँग हुनुपर्ने होम म्याच दशरथ रंगशालाको पूर्ननिर्माण नसकिएका कारण न्यूट्रल भेन्यूका रुपमा भुटानमा खेलिएको थियो ।

त्यसबीचमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि रंगशालामा पूर्न निर्माण भइसकेको थियो । त्यसले विश्व कप र एसिया कपका बाँकी खेल रंगशाला हुने तय भएको थियो । चैतमा नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्ने गरि एसियाली फुटबल महासंघ (एएफसी) ले खेल तालिका पनि सार्वजनिक गरिसकेको थियो ।

तर, यहि बीचमा कोरोनाको दोस्रो लहर सुरु भएपनि दशरथ रंगशालामा तय सबै खेल स्थगित भए । रंगशालमा अष्ट्रेलियाविरुद्ध आफ्नो टोलीको खेल हेर्ने नेपाली दर्शकको चाहना यसपटकका लागि पूरा हुन सकेन । तीनै बाँकी खेल अहिले कुवेतमा जारी छ । नेपालले चाइनिज ताइपेलाई पहिलो लेगमा जस्तै यस पटक पनि २–० ले हरायो ।

जोर्डनसँग पहिलो लेगकै जस्तो ३–० को हार बेहोरेको थियो । समूह चरणको अन्तिम खेलमा रुपमा नेपाली टोली आज राती नेपाली समय अनुसार ९:४५ बजे अष्ट्रेलियाको सामना गर्दैछ । अष्ट्रेलिया त्यहि टोली हो जसले समूह चरणमा शत प्रतिशत नतिजा निकाल्दै विश्व कप छनोटको दोस्रो चरण र एसिया कपको नजिक पुगिसकेको छ । आज नेपाललाई हराउन सके अष्ट्रेलिया अन्तिम खेल अघि नै आफ्नो लक्ष्य पूरा गर्नेछ ।

विश्व कपको समूह चरणबाट बाहिरिसकेको नेपालका लागि भने अष्ट्रेलियालाई हराउन सकेको खण्डमा एसिया कपको तेस्रो चरण पुग्ने झिनो सम्भावना रहन्छ । त्यसका लागि सबै समूहको चौथो हुने टोली मध्ये शीर्ष ४ मा पर्नुपर्नेछ । यसअघिको नतिजालाई हर्दा नेपालले अष्ट्रेलियालाई हराउन असम्भव प्राय छ । प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध रक्षात्मक रुपमा नखेल्ने बताएपनि यथार्थमा नेपाली टोलीको पहिलो प्रयास बराबरीमा रोक्ने त्यो नसक्दा पहिलाको भन्दा गोलअन्तर कम गराउनुहुनेछ ।

२० महिना अघि र अहिले नेपाली टोलीमा ठूलो परिवर्तन आएको छ । पहिलो लेगमा जस्तै अहिले टोलीमा २३ खेलाडी छन् । त्यसमा आधा भन्दा बढी १२ जना पहिलो लेगमा टोलीमा रहेका खेलाडी अहिले छैनन् । पहिलो लेग खेले पनि अहिले टोलीमा पर्न असफल हुनुमा कतिपय खेलाडी चोटग्रस्त छन् भने कति प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रोजाईमा पर्न सकेनन् ।

देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, तेज तामाङ, विमल घर्तिमगर, विक्रम लामा चोटका कारण र हेमन गुरुङ देश बाहिर रहेकाले यसपटक परेनन । रवि पासवान, विकेश कुथु, विशाल श्रेष्ठ, अजित भण्डारी, सरोज दहाल भने अलमुताइरीले अन्तिम छनोटमा पारेनन् ।

पहिलो रोजाईका ४ खेलाडी अहिले छैनन्

अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा पहिलो रोजाईमा परेका मध्ये अहिले ४ खेलाडी टोलीमा छैनन् । दवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ र रवि पासवान यसपटक टोलीमा परेनन् । रवि बाहेक तीनै जना चोटका कारण टोलीमा स्थान बनाउन असफल भएका हुन् ।

अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा नेपालको प्लेइङ ११– किरण चेम्जोङ (गोलकिपर, कप्तान), दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रोहित चन्द, रञ्जित धिमाल, विशाल राई (सन्तोष तामाङ ८६), सुजल श्रेष्ठ, अन्जन विष्ट (तेज तामाङ ७९), रवि पासवान, अभिषेक रिजाल (विमल घर्तिमगर ६६)

टोलीका अन्य सदस्य – विकेश कुथु, विशाल श्रेष्ठ, सुमन अर्याल, अजित भण्डारी, सरोज दाहाल, सुनिल बल, हेमन गुरुङ, विक्रम लामा, नवयुग श्रेष्ठ

पहिलो लेगमा रहेका अहिले टोलीमा नरहेका :देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, तेज तामाङ, रवि पासवान, विमल घर्तिमगर, विकेश कुथु, विशाल श्रेष्ठ, अजित भण्डारी, सरोज दहाल, हेमन गुरुङ, विक्रम लामा

अष्ट्रेलियाविरुद्ध खेल्ने सम्भावित टोली

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध खेलमा जोर्डनविरुद्ध खेलबाट परिवर्तन गर्ने पक्का छ । पछिल्लो खेलमा घाइते हुँदै मैदान छाडेका डिफेन्डर विकास खवास आज खेल्ने सम्भावना न्यून छ । त्यस्तै कमजोर प्रदर्शन गरेका फरवार्ड अभिषेक रिजालले पनि सुरुवात गर्ने सम्भावना देखिदैन । प्रशिक्षक अब्दुल्लाहले टोलीमा रहेका केहि युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन् ।

कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ प्रशिक्षक अलमुताइरीले खेलको अघिल्लो दिन भने ।

गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सुरुवात गर्ने पक्का नै छ । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता दिने देखिन्छ । अघिल्लो खेलमा सुमन अर्याल मिडफिल्डमा खेलेका थिए । विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन् । दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्ने देखिन्छ । अघिल्लो खेलमा दीनेशले सुरुवात गरेपनि प्रशिक्षक अलमुताइरीले अन्त्यतिर उनको स्थानमा सुनिल बललाई खेलाएका थिए ।

मिडफिल्डमा केहि परिवर्तन हुने सम्भावना छ । पुजन उपरकोटी रक्षात्मक मिडफिल्डमा खेल्दा उनलाई सन्तोष तामाङ र सुरज जिउ ठकुरीले साथ दिन सक्नेछन् । एरिक विष्ट र विशाल राई पछिल्ला खेलमा बेन्चबाट आएर प्रभाव जमाएका कारण सुरुवाती ११ मा पर्न प्रयासरत छन् ।

आक्रमणमा अन्जन विष्टको स्थान पक्का छ । उनलाई मनिष डाँगी र नवयुग श्रेष्ठले साथ दिन सक्छन् । पछिल्लो दुवै खेलमा बेन्चबाट अवसर पाएका मनिषले विपक्षीविरुद्ध प्रभाव जमाएका छन् र सुरुवाती रोजाइमा पर्न संघर्षरत छन् । सुनिल बल र अभिषेक रिजालले पछिल्लो खेलमा अपेक्षित प्रदर्शन नगर्दा दुवै बेन्चमा रहन सक्छन् ।

नेपालका लागि खतरा बन्न सक्छन् गोल मेसिन बनेका २ मिटर अग्ला डिफेन्डर

नेपालले सन् २०१९ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध खेल्दा अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन नै युवा डिफेन्डर ह्यारी सुटरले डेब्यु गर्ने जनाएका थिए । पत्रकार सम्मेलनमा स्थानीय मिडियाले पनि खेल भन्दा बढी प्रश्न सुटरको आबद्धतालाई लिएर गरेका थिए ।

स्कटल्याण्डका लागि उमेर समूहमा यू-१७ र यू-१९ बाट खेलेका सुटरको जन्म स्कटल्याण्डको एबिरडिनमा भएको थियो । आफ्नो करिअरको सुरुवात स्कटल्याण्डमा गरेपनि अष्ट्रेलियन आमा भएको कारण उनी अष्ट्रेलियाबाट खेल्न पनि पाउने थिए । उनले उमेर समूह खेलेपछि सिनियर टोलीमा अष्ट्रेलियाको प्रतिनीधित्व गर्ने निर्णय लिए ।

सन् २०१६ मा डन्डी युनाइटेडबाट उनी इंग्लिस क्लब स्टोक सिटीमा आबद्ध भए । अघिल्लो सिजनसम्म लोनमा अन्य क्लबबाट खेलिरहेका सुटरले यस सिजन भने स्टोकको सिनियर टोलीमा नै नियमित खेलिरहेका छन् । इंग्ल्यान्डको दोस्रो श्रेणीमा ३८ खेल खेलेका उनले कुल ४३ खेल क्लबका लागि खेले ।

डेढ वर्षअघि स्कटल्याण्डबाट अष्ट्रेलियाको राष्ट्रिय टोलीमा खेल्ने निर्णय लिएका २ मिटर अग्ला सुटरका लागि नेपालविरुद्ध डेब्यु खेल यादगार रहयो । पहिलो हाफको २३ औं मिनेटमा कर्नरमा हेडरमार्फत गोलको खाता खोलेका सुटरले दोस्रो हाफमा पनि गोल गरे । दोस्रो गोल पनि हेडरमार्फत नै सम्भव भएको थियो । उनको उचाइविरुद्ध नेपालका डिफेन्स निरिह देखिएका थिए ।

नेपालविरुद्ध डेब्यु गरेयता अहिले २२ वर्ष पुगेका सुटरले विश्वकप छनोटअन्तर्गत पछिल्लो दुवै खेलमा गोल गरेका छन् । डेब्यु गरेको ५ दिनपछि नै ताइपेइविरुद्ध भएको खेलमा उनले २ गोल गरे । उक्त खेलमा अष्ट्रेलिया ७-१ ले विजयी भयो । सोमबार कुवेतविरुद्ध ३-० को जितमा पनि सुटरले गोल गरे ।

अग्लो कदका यी डिफेन्डरले अष्ट्रेलियाको लागि नियमित खेल्दै आएका छन् । प्रशिक्षक ग्राहम आर्नोल्डले रक्षात्मक रुपमा मात्र नभएर सेट पिसमा उनको सदुपयोग उत्कृष्ट ढंगले गरेका छन् । ताइपेइ र नेपालविरुद्ध खेलको गोलले पनि त्यसलाई पुष्टि गर्छ ।

सुटरले राष्ट्रिय टोलीका लागि हालसम्म ३ खेल खेल्दै ५ गोल गरेका छन् । नेपालले आज उनी सुरुवाती रोजाइमा खेलेको खण्डमा विशेष रणनीति तयार पार्नुपर्ने देखिन्छ । यसैपनि सेट पिसमा कमजोर सावित हुँदै आएको नेपालका लागि सुटर डिफेन्डर भएपनि गोलको खतरा बन्न सक्छन् ।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालको खेलमा परिर्वतन भएको औंल्याउँदै खेलको लागि टोली तयार रहेको बताएका छन् ।

प्रशिक्षक आर्नोल्डले नेपाल मिहिनेती टोली भएकाले आफ्नो खेलाडीबाट थप मिहिनेतको अपेक्षा गरेको बताए । ‘हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ । नेपाल एकदम मिहिनेती टोली हो । म आफ्नो टोलीका खेलाडीले नेपालविरुद्ध धेरै कुदेर मिहिनेत गर्ने अपेक्षा राख्दछु,’ उनले भने, ‘हामीसँग टोलीमा एकदम राम्रो वातावरण सिर्जना भएको छ । सबैजना उत्साहित छन् । हामी प्रत्यक खेललाई हेर्दै अघि बढेका छौं र अब नेपालको सामना गर्न तयार छौं ।‘

आर्नोल्डले पछिल्लो पटक सन् २०१९ अक्टोबरमा सामना गरेयता नेपालको टोलीमा परिवर्तन भएको बुझेका छन् । ‘पछिल्लो पटक खेलेको भन्दा अहिले नेपाल फेरिएको छ । अहिले नेपालले पछाडीबाट नै मुभ निर्माण गर्ने रणनीति अपनाएको छ । नयाँ प्रशिक्षकले राम्रो काम गरेको देखेको छु,’ उनले थपे, ‘हामी नेपालको सम्मान गर्दछौं । निकै मिहिनेत गर्ने नेपाल पछिल्लो समय राम्रो हुँदै आएको छ । म राम्रो खेलको अपेक्षा गरिरहेको छु ।‘

अष्ट्रेलियन प्रशिक्षकले ताइपेइविरुद्ध खेलेको टोलीबाट केहि परिवर्तन हुने जानकारी दिए । ‘हामीले २९ खेलाडी टोलीमा ल्याएका थियौं र त्यसमा ४ गोलरक्षक पनि छन् । टोलीमा पछिल्लो खेलबाट पक्कै केहि परिवर्तन हुन्छ । कुवेतविरुद्ध खेल्ने टोलीका केहि खेलाडी पनि खेल्नेछन्,’ उनले प्रष्ट पारे ।

आर्नोल्डले आफ्नो प्रदर्शन कसरी राम्रो हुन्छ भन्नेमा बढी ध्यान दिने पनि बताए । ‘हामी विपक्षीभन्दा पनि आफ्नो खेलमा बढी ध्यान दिन्छौं । खेलमा ७५ प्रतिशत आफ्नो र २५ प्रतिशत विपक्षीको दबाब हुन्छ । त्यसैले हामी आफ्नो प्रदर्शन र स्तरलाई ध्यान दिएर नै अघि बढ्नेछौं,’ उनले टुंग्याए ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।

‘अर्को राम्रो खेल खेल्नुपर्ने छ । नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ,’ उनले भने, ‘नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा केहि परिवर्तन भएको छ । हामीले आफ्नो खेल्ने शैलीमा केहि परिवर्तन गरेका थियौं, त्यसको नतिजा देखिएको छ ।’

उनले छोटो समयमा नै नतिजाबारे सोच्न सहज नहुने पनि बताए । ‘नतिजा पनि महत्त्वपूर्ण हुन्छ, तर छोटो समयमा हामीले समर्थकहरुलाई खुसी दिन सकेका छौं । हामीले भविष्यमा थप सकारात्मक नतिजा दिने संकेत दिएका छौं,’ उनले भने, ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्टसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं र सुधार पनि देखिएको छ ।’

प्रशिक्षक अब्दुल्लाहले टोलीमा रहेका केहि युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन् । कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे । ‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्तबुझ्दो थिएन । गोलरक्षकले रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले एन्फासँग सम्झौता गर्दा चौथो स्थानमा रहने वाचा अनुसार आफू सफल रहेको पनि बताए । ‘मलाई चौथो स्थानमा रहने लक्ष्य दिइएको थियो, त्यसमा हामी सफल भएको छौं । तर शीर्ष ४ मा पर्न भने हाम्रो प्रयास जारी छ । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं,’ उनले भने ।

अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । नेपाललाई पराजित गरे अष्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ । यता नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.