काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोली बुधबार राती स्वदेश आइपुग्ने भएको छ । मलेसियाको कुचिङमा मंगलबार १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको यो पहिलो पटक हो । अखिल नेपाल फुटब संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार टोली बुधबार राती ८ः३५ बजे मांलिगो एयरबाट त्रिभुवन विमानस्थलमा ओलर्ने छ । उनले टोलीको स्वागतका लागि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टलाई निमन्त्रण गरिसकिएको जानकारी दिए ।
कार्यकारी अधिकृत तुलाधरले नेपाली टोलीलाई स्वागत गर्न चाहने समर्थकलाई विमानस्थल आउन समेत आग्रह गरेका छन् । उनका अनुसार एन्फा कार्यसमितिको बैठकले खेलाडीलाई दिने पुरस्कार राशीका बारेमा निर्णय लिनेछ ।