काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता दशरथ रंगशालामा हुने युथ एथलेटिक्स च्याम्पियनसिपमा बंगलादेशका १२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा ५ महिला र ७ पुरुष गरि बंगलादेशका १२ खेलाडीले भाग लिने पक्का भएको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकार दिए ।
च्याम्पियनसिपका लागि बंगलादेश टोली बिहीबार काठमाडौं आइसकेको खत्रीले जानकारी दिए । भुटान र भारतलगायतको देशबाट आउने भएपनि कोरोनाका कारण आउन नसकिएको जानकारी प्राप्त भएको खत्रीले जानकारी दिए । च्याम्पियनसिप सोमबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको एथलेटिक्स ट्रयाकमा हुनेछ ।
च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू–२० उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियसिपमा यू–१६ का १२ र यू–२० का १६ गरि कुल २८ इभेन्ट्समा प्रतिस्पर्धा हुने छ । छात्र–छात्रा यू–१६ मा ६० मिटर, १ सय मिटर, ८ सय मिटर, सटपुट थ्रो, लङजम्प र ४ गुणा सय रिलेको प्रतिस्पर्धा हुनेछ । त्यस्तै छात्र–छात्रा यू २० मा सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ हजार मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट थ्रो, ४ गुणा सय मिटर रिले दौडमा प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा विभिन्न जिल्लामा रहेका स्कुल, कलेज, विभागियसहित अन्य गरि २ सय ५० भन्दा बढी एथलिटले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । च्याम्पियनसिपका विजयी खेलाडीलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट हुने २ छात्र र २ छात्रालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सोही अवसरमा एथलेटिक्स संघका पूर्व अध्यक्ष, ओलम्पियन तथा प्रशिक्षक रघुराज वन्तले उदियामान एथलिट विर्सना कुमाललाई एक सेट स्पाइक सुज हस्तान्तरण गरेको छ । २१ वर्षीय विर्सना हाल नेपाल पुलिस क्लबमा आबद्ध छिन् । प्रशिक्षक वन्तले यसअघि विभिन्न खेलाडीले सहयोग गर्दै आइरहेका छन् ।