एजेन्सी – अन्तिम ओभरमा डेविड मिलरको लगातार तीन छक्कासँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा पुगेको छ । मंगलबार राती पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै फाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै रन बनायो । गुजरातको जितमा डेविड मिलर ३८ बलमा ३ चौका र ५ छक्कासहित ६८ रनमा अविजित रहे । गुजरातलाई अन्तिम १२ बलमा जितको लागि २३ रन चाहिँएको थियो । १९ औं ओभरमा ओबेद म्याकोयले मात्र ७ रन खर्चिए । अन्तिम ६ बलमा गुजरातलाई फाइनलमा पुग्न १६ रन चाहिँएको थियो ।
तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई अन्तिम ओभरको पहिलो बल डेविड मिलरले लङअन र दोस्रो बलमा डीप स्क्वायर लेगमा लगातार दुई छक्का प्रहार गरेपछि गुजरात जित नजिक पुगेको थियो । तेस्रो बलमा मिलरले छक्का प्रहार गर्दै फाइनल पक्का गराए ।

गुजरातका कप्तान हार्दिक पान्ड्या २७ बलमा ५ चौकासहित ४० रनमा अविजित रहे । चौथो विकेटका लागि हार्दिक र मिलरले १ सय ६ रनको अविजित शतकीय साझेदारी गर्दै जित दिलाए । ओपनर ऋद्धिमान शाह शून्यमा आउट भएपनि गुजरातले राम्रो सुरुवात गरेको थियो । दोस्रो विकेटका लागि शुभमन गिल र म्याथ्यु वेडले ७२ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए ।
गिल २१ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा रन आउट भए । वेड ३० बलमा ६ चौकासहित ३५ रनमा आउट भए । राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ५६ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८९ रनमा आउट भए ।

बटलर अन्तिम ओभरको अन्तिम नो बलमा दुई रन लिनेक्रममा रन आउट भएका थिए । बटलरले १६ ओभरको समाप्तिमा ३८ बलमा ३९ रन मात्र बनाएका थिए । त्यसपछि भने बटलरले आफ्नो खेल्ने शैली परिवर्तन गर्दै आक्रामक ब्याटिङका साथ बलियो योगफलमा पुर्याए ।
ओपनर यशस्वी जैसवाल यश दयालको दोस्रो ओभरको अन्तिम बलमा एज लागेर दुई रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि बटलर र सन्जु स्यासमनले ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सुरुवात देखिनै आक्रामक ब्याटिङ गरेका स्यामसनले २६ बलमा ५ चौका र ३ छक्कासहित ४७ रनमा आउट भए ।

स्पिनर रविश्रीनिवास साई किशोरको बलमा स्यामसन दशौं ओभरको पाँचौं बलमा लङअफमा अल्जारी जोशेफबाट क्याच भए । हार्दिक पान्ड्याको बलमा बोल्ड हुनुअघि देवदत्त पाडिक्कलले २० बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए । गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले १–१ विकेट लिए । रियान पराग र शिम्रन हेटमायर ४–४ रनमा आउट भए ।
राजस्थानले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच बुधबार हुनेछ । दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ ।