काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदन (बिभीएस) ले खेलकुदबारे अन्तरक्रिया र मैत्रीपूर्ण खेलको आयोजना गरेको छ ।

बृहस्पतिले आफ्नै प्राङ्गणमा सोमबार कतारमा जारी फिफा विश्वकप कतार २०२२ र ओलम्पिकबारे अन्तरक्रिया आयोजना गरेको हो ।
नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक एवम् अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठले विद्यार्थीबाट आएको प्रश्नको जवाफ दिएका थिए । कक्षा ५ मा अध्ययनरत छात्रा र छात्रले निर्धक्कका साथ ओलम्पिक कमिटिका उपाध्यक्ष र फुटबलर सुजललाई प्रश्न गरेका थिए ।

विद्यार्थीहरुले ओलम्पिक खेलको सुरुवात, नेपालबाट ओलम्पिकमा सहभागिता, ओलम्पिकको लोगोमा रहेको ५ गोलाकारको अर्थ, फुटबलको सुरुवात, विश्वकपमा नेपाली फुटबलको स्थितिबारे जिज्ञासा राखेका थिए । सोही अवसरमा शिक्षक र विद्यार्थीबीच मैत्रीपूर्ण फुटसल खेल भएको थियो । शिक्षकको तर्फबाट सुजल श्रेष्ठले पनि खेलेका थिए ।
बृहस्पतिका प्रिन्सिपल कुमार थापाले विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत नै यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको बताए ।

‘शिक्षा र खेलकुद सँगसँगै लैजानका लागि हामीले निरन्तर रुपमा यस्ता किसिमका कार्यक्रमहरु गर्दै आइरहेका छौं । अहिले हामी विभिन्न ७ खेललाई प्राथमिकतामा राखेका छौं ।’ प्रिन्सिपल थापाले भने, ‘खेलकुदमा लागेर पढाई नै बिगारेको मैले अहिलेसम्म देखेको छैन । बरु उनीहरु मानसिक र शारीरिक बिकास भएको देखेको छु । खेल्न त खेलिन्छ । यो ठुलो कुरा होइन । तर खेलकुदका हस्तीसँगको अन्तरक्रियाले विद्यार्थीहरुलाई थप उत्प्रेरणा हुन सक्ने मैले विश्वास लिएको छु । आज विद्यार्थीहरुले ओलम्पिक र फुटबलबारे थप बढी जानकारी पाएका छन् ।’
