पोखरा (हाम्रो खेलकुद) – इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयको आयोजनामा भइरहेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
राज्यलक्ष्मीको जितमा दिनेश घर्तिमगरले दुई र कमल घर्तिमगरले एक गोल गरे । दिनेशले खेलको १२औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए । त्यसको २ मिनेटमै दिनेशले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । ३९औं मिनेटमा राज्यलक्ष्मीका कमल घर्तिमगरले गोल गर्दै टिमलाई तेब्बर पारे ।
यस्तै सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सहिद स्मृति आवसिय माध्यमिक विद्यालयले विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई १–० ले हरायो । भद्रकाली माध्यमिक विद्यालयले पोखरा आदर्श माध्यमिक विद्यालयलाई र कालिका माध्यमिक विद्यालयले प्रतिभा माध्यमिक विद्यालयलाई समान २–० ले हराए ।
विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो ।
विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।