काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला नम्बर एक बक्सर सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिपको न्युनतम ४५ देखि ४८ केजी तौल समूहमा रजत पदकमा सिमित बनेकी छिन् ।

थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा बुधबार उज्वेकिस्तानकी फाजिलोभा फाजोनासँग अंकको आधारमा ५–० ले पराजित हुँदै सुष्मा रजत पदकमा सीमित बनेकी हुन् ।
नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पुग्नु नै हालसम्मको सबैभन्दा ठुलो उपलब्धि हो । एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको यो पहिलो अवसर हो ।
यसअघि नेपालले एसियालीस्तरमा कास्य पदकसम्म नै सिमित रहेको थियो । २०२१ मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ वुमन बक्सिङ च्याम्पियनशिपमा पनि सुस्माले लिथुयानीका खेलाडीलाई पराजित गरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैटौं स्थानमा पुग्न सफल भएकी थिईन ।
फाइनल प्रवेश गर्ने क्रममा सुष्माले आइतबार मंगोलियाकी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गरेकी थिइन् । फोजिलोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५–० को अंकको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
वुमन फेदर वैट ५७ किलो तौल समुहमा नेपालकी हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५–० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित बनिन् ।
यस्तै महिला ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानकी एरजन गुल्सायसँग अंकको आधारमा र पुरुष ८६ केजी तौल समुहमा नेपाली मुक्केबाज विजय बाटा ईन्डोनेसियन मुक्केबाज मोसकिता माईकलसँग सेमिफाइनलमा आरएसीको आधारमा पराजित भएका छन् ।