default_image

3 years ago

January 12, 2021

गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

त्यस्तै, मन्देकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । मन्देकाजीले फुटबलका बिकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन् ।

१३ औं सागमा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् । त्यस्तै, २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् ।

मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मन्देकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए।

पिपल्स च्वाइसमा अरुणा

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन् । अरुणाले कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् ।

अरुणाले ईसेवाबाट १ लाख ९४ हजार ७ सय ४७ अर्थात २७.८४२ प्रतिशत मत पाईन् । यस्तै फेसबुक लाइकमा ९ हजार ५ सय २२ अर्थात ४.४७९ प्रतिशत मत पाइन् । प्रशिक्षकबाट २.७०४ र आयोजक मञ्चका सदस्यबाट २.५०० प्रतिशत मत प्राप्त गरिन् ।

यस्तै मन्देकाजीले ईसेवाबाट १ लाख ६ हजार ६ सय ७२ अर्थात १५.२५० प्रतिशत मत पाए । फेसबुक लाईकमा १६ हजार ३ सय २८ अर्थात ७.६८० प्रतिशत मत पाए । मुख्य प्रशिक्षकबाट ३.०५३ र मञ्चका सदस्यबाट २.४७४ प्रतिशत गरि कुल २८.४५७ प्रतिशत मत पाउदै दोस्रो स्थानमा रहे ।
बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हासिल गरिन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत पाइन् ।
एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई बंगलादेशमा स्वर्ण जितेको थियो ।
अरुणाकै कप्तानीमा नेपाल १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा पहिलोपटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित भएपनि नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो अरुणालाई जिताऔं भन्दै पोखरामा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो ।

सुवासलाई युवा अवार्ड
गल्फका सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । सुवासले तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्बुलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

अवार्ड हात पारेसँगै सुवासले मञ्च परिवार र रोयल नेपाल गल्फ क्लबलाई विशेष धन्यवाद दिए । सुवासले १३ औं सागमा दुई वटा स्वर्ण जितेका थिए । त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजत पदक जितेका थिए । उनी फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन पनि हुन् ।

शाह र क्षेत्रीलाइफ टाइभ एचिभमेन्ट अवार्ड
टेबल टेनिसका पुराना खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा सन् १९९१ का सागका स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

तीन दशक (सन् १९९१) मा आयोजना भएको पाँचौं सागमा यो जोडीले टिम इभेन्ट्समा स्वर्ण पदक जितेको थियो । महिला टिम इभेन्ट्समा नेपाली खेलकुद इतिहासकै त्यो एक सर्वकालीन गौरवको उपलब्धि हो । श्रीलंकाको कोलम्बोमा क्षेत्री र शाहले दिलाएको त्यो उपलब्धी साग खेलकुदमा महिला खेलाडीले देशका लागि नेपालका पहिलो स्वर्ण पदक हो ।

दक्षिण एसियालको पावर हाउसका रुपमा स्थापित भारतका खेलाडीलाई हराउँदै उनीहरुले स्वर्ण पदक जितेका थिए । तेस्रो सागदेखि नेपालको प्रतिनिधित्व गरेकी शाहले सातौं सागसम्म खेलेकी थिइन् ।

आफ्नो खेल जीवनमा उनले ८ पदक जितेकी थिइन् । सागमा स्वर्णसहित ६ पदक जितेकी क्षेत्रीले भने स्वर्ण जितेपछि खेलिनन् । शाह र क्षेत्रीको सफलतापछि अहिलेसम्म सागमा नेपालले स्वर्ण पदक जित्न सकेको छैन ।

आयशा र सन्तोषीलाई स्पेशल अवार्ड
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले १७औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोट्र्स अवार्ड’ अन्तर्गत स्पेशल अवार्ड पाएका छन् । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जितेका थिए ।

२०७६ सालमा नेपालमा सम्पन्न १३ औं सागमा तेक्वान्दोकी आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन्। त्यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा भने कास्य पदक जितेकी थिइन् ।

एथलेटिक्सकी सन्तोषीले १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। सन्तोषी १३ औं सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन् । १३ औं सागमा एथ्लेटिक्समा नेपालले ३ स्वर्ण जितेको थियो ।

दिगमलाई पारा एथलेट सम्मान
पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटि अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा मंगलबार सम्मानित भएका हुन् ।

ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास लेखाएका छन् । नेपालमा गतवर्ष भएको एसियाली ह्विल चियर क्रिकेटमा उनले अलराउन्ड प्रदर्शन गरेका थिए। गतवर्ष पोखरामा भएको पारा टेबल टेनिसमा उनले रजत पदक जितेका थिए ।

२१ वर्षको उमेरमा वैदेशिक रोगजारीका लागि खाडी मूलुक कतार पुगेका दिगम अर्को वर्ष एउटा भयंकर सडक दुर्घटनामा परका थिए । ११ महिनाको लामो अस्पताल बसाई पछि उनी स्वदेश फर्केका थिए ।

२०६६ सालमा नेपाल फर्किदा उनले पारा खेलाडी बन्ने उदेश्य बनाइसकेको बताएका छन् । अर्को वर्ष स्पाइकल कर्ड पारा पौडी हुने खबर उनले सुने । त्यस अवसर उनको जीवन बदलियो । त्यसमा उनले स्वर्ण पदक जिते । त्यसपछि उनको खेल जीवन अघि बढ्यो । यस्तै एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड अहमद खवारी इशालाई प्रदान गरिएको छ ।

नवीन वर्ष उत्कृष्ट प्रशिक्षक
तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन्। नवीनले उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।

१३औं सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जित्दा नवीन प्रशिक्षक थिए। तेक्वान्दोमा नेपालका सबै २९ जना खेलाडीले पदक पाएका थिए । उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप नेपालले खेल्दा टिमका प्रशिक्षक थिए । वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका नवीनले एक थान पल्सर मोटरसाइकल पाएका छन् ।

महिला भलिबललाई टिम अफ द इयर अवार्ड
महिला भलिबल टिमले टिम अफ द इयरको अवार्ड पाउन सफल भयो। एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपको उपाधि जित्दै नेपाली महिला टिमले ऐतिहासिक सफलता पाएको थियो। नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो ।

नेपाल १३औं सागमा पहिलो पटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो । पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइज अवार्डका विजेताले पल्सर स्पोर्ट्स मोटरसाइकल पाएका छन् । त्यस्तै, हरेक विधाका विजेताले ५० हजार नगद पाएका छन् ।

खवारीलाई एसियन स्पोट्र्स जर्नालिष्ट अवार्ड

मञ्चले मलेसियाका खेल पत्रकार अहमद खवारी इशालाई एसियन स्पोर्टस् जर्नालिष्ट अवार्डबाट सम्मान गरेको छ । खवारी एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस) एसियाका उपाध्यक्ष हुन् ।

लामो समयदेखि खेलकुद पत्रकारितामा संलग्न खवारी कार्यक्रममा भने उपस्थिति भएनन् । उनको तर्फबाट एआइपिएस एसियाका कोषाध्यक्ष समेत रहेको मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीले अवार्ड ग्रहण गरेका थिए । एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड गत वर्षबाट दिन सुरु गरिएको थियो ।

खेलाडीलाई हंसराज हुलास चन्दका प्रमुख शेखर गोल्छा, अभिमन्यु गोल्छा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राखेप सदस्यसचिव रमेश कुमार सिलवाल, उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, इसेवाका सिओओ रोशन लामिछाने, केल्मी नेपालका प्रतिनिधि मनिषा शर्मा, डिस मिडिया नेटवर्कका सन्जय राजभण्डारी, इमेज च्यानलका लक्ष्मण हुमागाई, सुर्य नेपालका केशव प्रधानलगायतले पुरस्कृत गरे ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको थियो ।

Success

Thank you for your time.