विनोदबाबु रिजाल
भरतपुर – ए डिभिजन टोली सिएमजी क्लब संकटा १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न खेलमा भारतबाट आएको युनाइटेड खर्साङ फुटबल क्लबलाई ४–२ ले हराउँदै संकटा क्लब अन्तिम ८ मा पुगेको हो ।
संकटाले सेमीफाइनल प्रवेशका लागि झापा–११ को सामना गर्नेछ । झापा नेपाल पुलिस क्लबलाई हराउँदै अघि बढेको थियो । खेलको १३ औं मिनेटमा विश्व अधिकारीको आकर्षक गोलबाट संकटाले अग्रता लिएको थियो भने २५ औं मिनेटमा निराजन खड्काले गोल थर्दै अन्तरलाई दोब्बर पारे ।

फोटो सौजन्य- राजु चौधरी
४१ औं मिनेटमा मैदानमा लडेका संकटाका खेलाडीले खुट्टाले हानेपछि खर्साङका प्रशान्त गुरुङलाई रेफ्री वीरेन्द्र पाण्डेले रातो कार्ड देखाए । त्यसपछि १० खेलाडीमा सीमित भएको खर्साङले दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गरेको थियो । तर, ७६ औं मिनेटमा निराजनले अर्को थोल थपे । विश्वले पनि ७९ औं मिनेटमा अर्को गोल गरे । खर्साङका लागि सुजय गुरुङले ८४ औं र ८९ औं मिनेटमा गोल गरेपनि टोलीको हार टरेन । संकटाका निराजनले म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ पाए ।
प्रतियोगितामा शनिबार हिमालयन शेर्पा क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिले सिक्किम ११ आउने भनिएपनि अन्तिम समयमा उपस्थित नहुने भएपछि ब्वाइज युनियनलाई मौका दिइएको प्रचारप्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जनाए । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ र उप–विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने विकास शिल्ड समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिए ।
टुबोर्ग विकास रनिङ शिल्ड फुटबलमा शनिबारको खेल
हिमालयन शर्पाविरुद्ध ब्वाइज युनियन
समय –२ः३० बजे