default_image

5 years ago

March 4, 2021

गण्डकी भलिबलका सान हरि : कोर्ट भित्र हर्ष, बाहिर संघर्ष

341 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

‘हरि! हरि! हरि! हरि!’

पोखरा रंगशालास्थित भलिबल कोर्टमा गण्डकी प्रदेशले टाइगर कपको उपाधि जित्दा हजारौं दर्शकहरुको मुखारविन्दमा एकै नाम थियो, हरि पाण्डेयको । घरेलु समर्थकको बीचमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दा टोलीका कप्तान हरिको देब्रे हाते स्पाइक निर्णायक पनि सावित भयो ।

यसै पनि दर्शकमाझ चर्चामा रहिरहने हरिको उक्त प्रदर्शनले उनको लोकप्रियता अझै बढेको छ । तर मैदानभित्रको खेलले जति चर्चामा उनी रहँदै आएका छन्, उनको मैदानबाहिरको संघर्षबारे भने कमैले भेउ पाएका छन् ।

यसैपनि देब्रे हाते खेलाडी कम पाइने नेपाली भलिबलमा हरिले स्थानीय प्रतियोगितामा आफ्नो बेग्लै पहिचान स्थापित गरेका छन् । कुशल प्रतिभा र अनुशासित खेलाडी हरि अझैपनि किन प्रदेश टोलीमै सिमित छन् भन्ने जिज्ञासा पनि धेरैमा छ । तर भाग्यले साथ नदिँदा विभागमा पुगेर पनि उनी त्यहाँ आफ्नो करिअर अघि बढाउन असमर्थ भए ।

दुई साता अघि पोखरामा सम्पन्न प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपमा हरिकै कप्तानीमा रहेको घरेलु टोली गण्डकी प्रदेश च्याम्पियन बन्यो । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै उपाधि जितेको थियो । गण्डकीले भलिबल इतिहासमा पहिलो उपाधि जित्ने क्रममा आर्मीलाई त्यसै प्रतियोगितामा लगातार दोस्रो पटक पराजित गर्यो ।

समूह चरणमा ३-१ को जित दर्ता गर्दा पहिलो पटक आर्मीमाथि जित हासिल गरेको गण्डकीले निकै प्रतिस्पर्धात्मक फाइनलमा आर्मीलाई पाँचौ सेटमा पाखा लगाउँदै उपाधि जितेको थियो । राष्ट्रिय खेलाडीको बाहुल्यतासँगै वर्षभरी अभ्यास गर्ने आर्मीविरुद्ध एक हप्ताको तयारीमा कोर्टमा उत्रेको गण्डकीले लिग र फाइनल दुवैमा हराउनु सानो उपलब्धि थिएन ।

कप्तान हरिसँगै गण्डकीका सबै खेलाडीको प्रर्दशन, भूमिका र योगदान उत्कृष्ट थियो । हरिले आफूहरुले पर्याप्त अभ्यास गर्न नपाएपनि टोलीको सन्तुलन, घरेलु समर्थक र कोर्टको फाइदा उठाउँदै आफ्नो टोली सफल रहेको बताए । राम्रो अभ्यास पाउने हो भने गण्डकीले यो भन्दा धेरै राम्रो गर्न सक्ने उनको विश्वास छ ।

हरि पछिल्लो ६ वर्षदेखि नेपाली भलिबलमा प्रत्यक्ष लागेका छन् । ‘यसक्रममा एउटा न एउटा विभागीय टोलीलाई हराएका थियौं । सेट मिल्दै गएको थियो । स्थानिय खेलमा पनि हाम्रो टोलीनै हुन्थ्यो’, हरिले भने,‘ यस पटक टोली समन्वय राम्रो भयो । लकडाउनपछि तीन चारवटा प्रतियोगिता सँगै खेलेका थियौं, जसले गर्दा उपाधि जित्न सहज भयो ।’

गण्डकी एक साता भन्दा कम तयारीमा टाइगर कपमा उत्रेको थियो । हरि चितवनमा हुँदा गण्डकी कपको छनोट हुने फेसबुकबाट थाहा पाए । त्यो जानकारी पाउनुअघि हरि भलिबल खेल्न दाङमा जाने पक्का गरिसकेका थिए । तर टाइगर कपको अवसरलाई उनले छाड्न चाहेनन् । हरि आफूले खेलिरहेको टोलीको दाङ यात्रा रद्द गरेर पोखरा छनोट खेल्न पुगे ।

छनोटमा गण्डकीमा उपलब्ध सबै खेलाडी पनि आएनन् । छनोटपछि अभ्यास पाँच दिन मात्र भएको थियो । छोटो तयारीमा धेरै गर्न नसकिने हरि बताउँछन् । ‘तयारी कम भएपनि टोलीको लक्ष्य भने उपाधि जित्ने थियो । आफ्नो घरेलु मैदान र समर्थकको साथले पनि उपाधिमा सहयोग पुग्यो’,उनले उपाधि क्षणबारे बताए, ‘खेलकै दौरान गण्डकीको टोलीको लय मिल्दै गयो । टोलीका सबै खेलाडीले स्तरीय प्रदर्शन गरे ।’

हरिको जन्म स्याङ्जाको कालिगण्डकी गाउँपालिका–१ मा बुबा ईश्वरी प्रसाद र आमा युवा कुमारी पाण्डेयको कान्छो सन्तानको रुपमा २०५० साल भदौ १४ गते मा भएको थियो । उनको कागजी नाम भने खोम प्रसाद पाण्डेय हो । खेलमा हरि नामले चिनिन चाहने उनको तीन दिदी र दुई दाई छन् । उनले सानो उमेरदेखि नै भलिबल खेले । भलिबल मोहकै कारण स्कुलबाट फर्केपछि घरमा आफ्नो जिम्मामा पर्ने काम जतिसक्यो छिटो सकेर भलिबल खेल्न जान्थें । झुम्राको बलबाटै उनले भलिबल सिक्दै र खेल्दै हुर्किए ।

हरिले कक्षा ८ सम्म स्थानीय शिव निम्न माध्यामिक विद्यालय खोर्दीमा पढें । त्यसपछि उनी २०६७ मा गाउँ छोडेर अध्ययनको लागि बुटवल झरे । बुटवलमा कालिकाबाट अध्ययन अघि बढाए । त्यसक्रममा उनले सुख्खानगरमा रहेको लाफा क्लबमा आवद्ध हुँदै भलिबल क्षमतालाई अझ सुधार गर्नतर्फ लागे । सोहि क्लबबाट सानोतिनो प्रतियोगिता पनि खेले ।

दाईहरुको सुझावपछि हरि २०६९/७० तिर भलिबलमा अझ राम्रो गर्न नेपाल पुलिस क्लबमा ट्रेनिङ गर्न काठमाडौं आए । गोगंबु बसपार्कको होटलमा एउटा कोठा लिएर भलिबल प्रशिक्षण गर्न थाले । विना कुनै सुविधा उनले पुलिसमा नियमित अभ्यास गरे । भलिबल प्रतिको लगावले होला केहि नपाए पनि उनले अभ्यास गर्न भने छाडेनन् ।

पोखरामा २०७१ को फागुनमा भएको राष्ट्रिय प्रतियोगितामा हरिले पुलिसबाट खेले । पुलिसको टोली  र राष्ट्रिय प्रतियोगिता दुवैमा उनको यो पहिलो अनुभव थियो । विना कुनै सुविधा खेल्नेमात्र भएपछि आफ्नो खर्च धान्न नै मुस्किल भयो । त्यसपछि उनी करारमा त्रिभुवन आर्मी क्लब लागे । आर्मीमा खाना बस्नसँगै जागिरको अवसर पाउने आशाले उनी २०७२ को अन्तिममा त्यहाँ आबद्ध भएका थिए । तर दुर्भाग्य आर्मीमा गएको केहि समयमा नै उनका बुबा बिरामी परे ।

गाउँ पुगेर उपचारका लागि बुवालाई काठमाडौं ल्याए । बुबासँग अस्पतालमा रहँदा आर्मीमा जागिरमा भर्ती हुन पटक पटक फोन आइरह्यो । हरि दोधारमा परे । उनीसँग दुई वटा विकल्प थियो । एउटा बुवालाई अस्पतालमा कुरेर बस्ने की सेनामा भर्ती हुन जाने ।

बुबालाई त्यो अवस्थामा छाडेर जागिर खान जाने निर्णय गर्न उनको मनले मान्ने कुरै भएन । त्यसैले सेनामा भर्ति हुने सपना थाँती राखेर बुबाकै स्याहारमा जुटिरहे । मस्तिष्कमा ट्युमरको बिरामी बुबासँगै उनी अस्पतालमा ६ महिना बसे । तर अस्पताल छाडेको केहि महिनामा बुवाले संसार छाडे ।

पितालाई गुमाउनुको पीडामा रहेपनि हरि त्यसको एक महिनापछि भलिबल कोर्टमा फर्किए । उक्त पिडा बिर्साउन भएपनि फेरी भलिबलमा लाग्ने उनले सोचेका थिए । लामो विश्रामका कारण उनको लय खस्किसकेको थियो । तर नियमित अभ्यास र स्थानीय प्रतियोगिता खेल्दै जाँदा उनलाई पुरानो स्तरमा फर्कन समय लागेन ।

२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय प्रतियोगितामा हरिले पहिलो पटक प्रदेशको कप्तानी गरे । दोस्रो प्रधानसेनापति भलिबल प्रतियोगितामा गण्डकीले पहिलो पटक विभागीय टोली एपिएफलाई हराउँदै तेस्रो हुन सफल भयो । तेस्रो प्रधानसेनापति भलिबलमा गण्डकीको कप्तानी हरिले गरे । तेस्रो र चौथो प्रधानसेनापतिमा गण्डकी दोस्रो भएको थियो ।

लामो प्रयासपछि हरिको कप्तानीमा गण्डकी पहिलो उपाधि जित्न सफल रहयो । टाइगर कपमा गण्डकीको खेल हुँदा दर्शकको बाक्लो उपस्थिति रहन्थ्यो । यसै पनि खँदिलो ज्यान भएका हरि बायाँ हाते स्पाइक गर्ने भएर होला अरु भन्दा केहि भिन्न देखिन्छन् ।

दर्शकको नजरमा पनि हरि टाइगर कप भर केन्द्रमा रहे । हरिको स्पाइक बाहिर जाँदा दर्शक निराश हुन्थे । ए हरि निस्की भन्थे । अर्कोतिर स्पाइक विपक्षी कोर्टमा खस्दा दर्शकको अझ बढी पाउँथे । दर्शकमाझ खेल्दा उर्जा थपिने र प्रदर्शन गर्न मनोबल बढ्ने उनको बुझाइ छ ।

प्रतियोगिताभर हरिले दर्शकको आलोचना र साथ दुवै अलि अलि सुनिए भने त्यता धेरै ध्यान नजाने सुनाए । उनले भने ‘फिल्डमा हुँदा दर्शकको प्रतिक्रियामा धेरै ध्यान जादैन । खेलमै बढी ध्यान हुन्छ । दर्शकको उपस्थितिले भने खेलको माहोल नै फरक हुन्छ ।’

हरि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाइएपनि अन्तिम टोलीमा भने पर्न सकेका छैनन् । सन् २०१८ मा बंगलादेशमा भएको एभिसी सेन्टर जोन च्याम्पियनसिपका लागि उनी बन्द प्रशिक्षणमा परेका थिए । तर अन्तिम १६ बाट बाहिरिए । त्यसपछि भने फेरि बन्द प्रशिक्षणमा पर्न सकेका छैनन् । उनको एउटा सपना छ कम्तिमा देशका लागि एउटा खेल भएपनि खेल्ने ।

भलिबलको यो यात्रामा हरि दाई वरुणबाबु घिमिरेको साथ र सहयोग महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् । वरुणले ४ वर्षसम्म चितवनमा राखेर भलिबल खेल्ने वातावरण मिलाएकै कारण यहाँसम्मको यात्रा तय गर्न सकेको उनी बताउछन् ।

देशका लागि खेल्नेसँगै भारतीय वा ब्रिटिस आर्मीमा भर्ना हुने उनको अर्को धोको थियो । लाहुरे बन्ने सपना पूरा गर्न पोखराबसेर ट्रेनिङ पनि गरे । तर त्यहाँ सफलता मिलेन । लगातर अन्तिम समयमा गएर फालिन्थे । उनले त्यो इच्छा पूरा भएन । लाहुरे बन्न नसकेपनि त्यसको ट्रेनिङले भलिबलमा साथ दिएको उनलाई महसुस हुन्छ ।

अहिले हरिसँग भलिबल बाहेक करिअरको विकल्प छैन । जति सकिन्छ त्यहाँसम्म खेल्ने अनि भलिबलबाट बिदा हुने उनको सोच छ । ‘राम्रो हुँदै गयो भने प्रदेशबाटै खेल्छु । भएन भने अन्तमा पलायन हुने बाहेक के छ ?,’ निराश हुँदै उनले सुनाए,‘ अहिले खेलेर मात्र पनि भएन । पछिको लागि हेर्नु पर्यो । खेल्दा जित्दा र हार्दा हाई हाई गरेर मात्र भएन । सधैं यसरीनै भलिबल खेलेर मात्र पनि हुँदैन । भविष्य पनि हेर्नुपर्यो ।’

भलिबल नेपालको राष्ट्रिय खेल हो । भलिबलको साच्चै विकास गर्ने हो भने विभागिय टोलीलाई जत्तिकै प्रदेशका टोलीलाई पनि बलियो बनाउन आवश्यक रहेको हरिको बुझाई छ । त्यसका लागि प्रदेश सरकार र भलिबल संघले विशेष योजना सहित खेलाडीलाई राम्रो सेवा सुविधा दिने कार्यक्रम ल्याउनुपर्नेमा उनी जोड दिन्छन् ।

भलिबलमा गण्डकीले प्रदेश टोली पनि कमजोर छैनन् भन्ने एउटा राम्रो उदाहरण र सन्देश दिएको छ । तर अब त्यहि प्रदर्शनको निरन्तरता दिनु प्रदेश सामू उस्तै चुनौती पनि छ । त्यो चुनौतीलाई सामाना गर्न तयार नहुने हो भने गण्डकीले आर्मीलाई फाइनलमा हराएको इतिहास त्यहीं मात्र सिमित हुनेछ । हरि जस्ता प्रतिभालाई अहिले नै खेलमा लागिरहने आधार खडा नगर्ने हो भने नेपाली भलिबलले उनी मात्र होइन, आउने दिनमा यस्ता धेरै प्रतिभा गुमाउने डर हुन्छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.