काठमाडौं (हाम्रो खेलकुद) – धावक धर्म महर्जनले बर्लिन म्याराथन दौडने भएका छन् । सहभागिताका लागि महर्जन बिहीबार जर्मनी जानेछन् । दक्षिण एसियाली खेलकुद (साग) का म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रष्टले बुधबार संयुक्त रुपमा विदाई कार्यक्रम आयोजना गर्यो ।
मानन्धर, अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापा, पूर्व धावक एवं गीतकार बुद्धिवीर लामा, ट्रष्टका अध्यक्ष मनीषराज जोशीलगायतले उनलाई बिदाइ गरे । महर्जनले सेप्टेम्बर २६ तारिखमा हुने बर्लिन म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने छन् । महर्जन सहभागी हुने ४५ वर्षमाथिको उमेरसमूहको म्याराथनमा करिब १० हजार धावकको सहभागिता रहने बताइएको छ ।
महर्जनको यो समग्रमा ९ औं अन्तर्राष्ट्रिय सहभागिता हो । यसअघि उनले अमेरिका, थाइल्यान्ड, जापान, नेदरल्यान्ड र चीनमा विभिन्न दूरीको दौडमा सहभागिता जनाइसकेका छन् । त्यसमा जापानमा भएको १८ औं एसियाली मास्टर्स च्याम्पियनसिपमा महर्जनले कांस्य जितेका थिए । त्यो उनको खेल जीवनको अहिले सम्मको ठूलो उपलब्धि हो । महर्जनले तीन राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको फुल म्याराथनतर्फ सहभागिता जनाइसकेका छन् ।
महर्जनले बर्लिन म्याराथनमा २ घण्टा ४५ मिनेटमा दौड पूरा गर्ने लक्ष्य रहेको बताउदै सहभागिताका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनका अनुसार कीर्तिपुर नगरपालिकाले ५० हजार, कीर्तिपुर खेलकुद समाजले २१ हजारसहित व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त गरेको बताएका छन् ।
एन्फा अध्यक्ष थापाले २५ हजार तथा ट्रष्टका अध्यक्ष जोशीले ५ हजार आर्थिक सहयोग गरे । बैकुण्ठ मानन्धर खेलकुद नेपालले पनि महर्जनलाई आर्थिक सहयोग प्रदान गरेको थियो । ट्रष्टका अध्यक्ष जोशीले महर्जनले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नगद पुरस्कारसहित पुरस्कृत गर्ने प्रतिबद्धता जनाए ।