default_image

पूर्वाञ्चलमा मंसिर ११ देखि १८ सम्म आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिने भएकोछ ।

राखेपको बोर्डको निर्णायक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव केशवकुमार विष्ट ।

राखेपको बोर्डको निर्णायक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव केशवकुमार विष्ट ।

मंगलबार सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०३ औं बोर्ड बैठकले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौमा समावेश गरेकोछ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो ।
सातदोवाटामा पत्रकार सम्मेलन गरि राखेप सदस्य सचिव केशव कुमार बिष्टले प्रतियोगिताको लागतमा केहि बृद्धि भएको समेत जनाए । उनले सुरुमा २३ करोडको लागतको अनुमान गरिएकोमा खेल संख्या बढेको र अन्य कारणले लागतमा बृद्धि हुन गई २८ करोड पुगेको बताए । सदस्य सचिव बिष्टले थप ५ करोड अर्थ मन्त्रालय संग माग गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।
सोही बैठकले प्रतियोगिताको लागि युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा ५०७ सदस्यिय मुल समारोह समिति गठन गर्ने र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको संयोजकत्वमा २१ सदस्यिय कार्यकारी समिति गठन गर्ने समेत निर्णय गरेकोछ । त्यस्तै कार्यकारी समिति अन्तरगत परिषद्का बोर्ड सदस्यहरुको संयोजकत्वमा विभिन्न १२ उप–समिति बनाईने भएकोछ ।
प्रतियोगिताको उद्घाटन विराटनगरको शहिद रङ्गशालामा गरिने र समापन धरानस्थित अखिल नेपाल फुटबल संघको खेल मैदानमा हुने भएकोछ । उद्घाटानका प्रमुख अतिथी गणतान्त्रीक नेपालका सम्माननिय राष्ट्रपती र समापन सम्माननिय प्रधान मन्त्रीबाट गरिने सम्मेलनमा जानकारी गराईयो ।
प्रतियोगिताको तयारीको क्रममा जिल्ला प्रतियोगिता अशोज १७ देखि २४ गते सम्म र कार्तिक ११ देखि २३ गते सम्म क्षेत्रीय प्रतियोगिता गरिने भएकोछ । त्यसको लागि भदौ १५ देखि प्रशिक्षकहरुलाई जिल्ला खटाईने समेत जानकारी गराईयो । राष्ट्रिय प्रतियोगिताको लागि मंसिर २ देखि ९ गते सम्म खेलाडीहरुलाई बिशेष बन्द प्रशिक्षणमा राखिनेछ ।
तेक्वान्दो खेलको हकमा डब्लुटिएफ र तेक्वान्दो युनियनका खेल दुवै एकै प्रकृतीका खेल भएकाले दुवै खेलका खेलाडीहरुलाई समावेश गर्दै एकै प्रतियोगिता आयोजना गरिने सदस्य सचिव बिष्टले जानकारी गराए ।
सातौ राष्ट्रिय प्रतियोगिताको अधिकांश खेल सुनसरीमा र मोरङ्गमा हुने भएको छ । सुनसरीमा १५, मोरङ्गमा १३, झपामा ५, सिराहामा १, सप्तरीमा १ र ईलाममा १ खेल आयोजना हुने भएकोछ ।
यसका अलावा बोर्ड बैठकमा अन्तराष्ट्रिय खेलकुद परिसरस्थित पौडी पोखरीको दक्षिण पटि रहेको खाली स्थानमा एक हिटिङ्ग सिस्टमको प्रशिक्षण पौडी पोखरी निर्माण गर्ने र च्यासलस्थित एन्फाको फुटबल मैदानलाई एन्फाले राखेपका प्राविधिकहरुको सहभागितामा डिपिआर निर्माण पश्चात स्तरोन्नती गर्ने र राखेपलाई चाहिएको अवस्थामा प्रयोग गर्न पाईने गरि एन्फालाई हस्तान्तरण गरिने समेत छलफल भएको सदस्य सचिव बिष्टले जानकारी गराए ।

Success

Thank you for your time.