default_image

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ । भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार  भिसेल कोबेको यू १८ टोली सँग ४-२ को अन्तरले पराजित भएको छ । नेपालका लागि पहिलो हाफमा बिमल घर्ति मगर र दोस्रो हाफमा भरत खवासले गोल गरेका थिए।

अभ्यासका दौरान नेपाली टोली । तस्बिर सौजन्य-एन्फा

नेपालको राष्ट्रिय टोली  जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो भने शुक्रबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको थियो।

एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले आज लगातार चौथो खेल खेलेको हो । पहिलो खेलमा साउन २९ गते गाम्बा ओसाका यू २३ टोलीसँग १–१ को बराबरी गरेयता आज  लगातार चौथो खेल हो । ओसाका यू २३ सँगको दुई दिनपछिको खेलमा क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएपछि त्यसपछिका दुई खेलमा नेपालले लज्जास्पद हारको सामना गर्नु परेको थियो ।

जापानको क्षेत्रीय टोली अमिट्सि स्पोर्टस क्लबसँग दोस्रो रोजाईको खेलाडीलाई मौका दिएको टोलीले ५–० को हार चाखेको थियो । तर लगतै भोली पल्ट शुक्रबारको खेलमा पनि अघिल्लो दिनकै नतिजाले निरन्तरता पाएको थियो । हनाम विश्वविद्यालयको खेल नेपालले ६–० ले गुमाएको थियो ।

पहिलो खेलमा नवयुगको गोलले बराबरी गरेको नेपाली टोलीका लागि दोस्रो खेलमा विमल घर्ति मगर र सुमन लामाले गोल गरे । नेपालले पाँच खेलमा जम्मा जम्मी ५ गोल गर्यो भने १७ गोल खाएको छ । पछिल्ला तीन खेलमा मात्र नेपालले १५ गोलको सामना गर्दा तीन गोल मात्र फर्काउन सक्यो ।

नेपालले भदौ २० गते एसियन कप छनोटको तेस्रो खेलमा ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपालले घरेलु मैदानमा अंक तालिकाको पुछारमा रहेको ताजकिस्तानको सामना गर्नेछ ।

Success

Thank you for your time.