default_image

7 years ago

June 25, 2017

रहेनन् भारत्तोलन प्रशिक्षक जोशी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाललाई भारत्तोलन खेलमार्फत सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने भारोत्तोलनका पूर्व खेलाडी तथा प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको निधन भएको छ । ५३ बर्षे कीर्तिमानी जोशीको उपचारको क्रममा आइतबार बिहान बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको हो । हृदयघात रोगका कारण उनी एकसाता अघि अस्पताल भर्ना भएका थिए । सन् १९९६ मा अमेरिकाको […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाललाई भारत्तोलन खेलमार्फत सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने भारोत्तोलनका पूर्व खेलाडी तथा प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको निधन भएको छ । ५३ बर्षे कीर्तिमानी जोशीको उपचारको क्रममा आइतबार बिहान बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको हो ।

हृदयघात रोगका कारण उनी एकसाता अघि अस्पताल भर्ना भएका थिए । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको २६ औं ओलम्पियकमा भाग लिएका जोशीले इराकमा भएको प्रतियोगितामा तीन पदक जितेका थिए । नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेका जोशी पहिलो साफ देखि सातौ साफसम्म लगातार खेल्ने र बढी पदक जित्ने एकमात्र खेलाडी हुन् ।

२०४१ मा काठमाडौंमा आयोजित पहिलो दक्षिण एसियाली खेलकुद (साग) बाट सहभागिता जनाएका सुनिललालले पहिलो सहभागितामै रजत पदक जितेका थिए । सातौ सागसम्म आइपुग्दा जोशीले देशका लागि ६ रजत र ११ कास्य पदक जितेका थिए ।

नेपाल भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका जोशीले खेल जीवन पश्चात २०५२ साल असोज १ गतेबाट प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा आबद्ध भएका थिए । उनी २०६३ पुस २१ गतेबाट वरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए ।
हाल ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत जोशीकै प्रशिक्षणमा नेपाली भारत्तोलन खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हात पार्न सफल भएका थिए । यसैवर्ष नेपालमा जुनियर भारोत्तोलन आयोजना हुने क्रममा जोशीको निधनले नेपाली भारत्तोलनमा अपुरणीय क्षति पुगेका उनका सहकर्मी सञ्जय महर्जनले बताए ।

‘मुख्य प्रशिक्षक जोशीको निधनले भारोत्तोलनलाई अपुरणीय क्षति पुगेको छ । हरेक खलाडी तथा पदाधिकारीमाझ लोकप्रिय र मिलनसार जोशीको निधनले मर्माहात छौं ’जोशीलाई स्मरण गर्दै महर्जनले थपे, ‘खेलाडी छदा हामीबीच एउटै (वेट क्याटगोरी) तौल समूहमा सधै प्रतिस्पर्धा हुने गर्दथ्यो । कहिले मैलै जित्थ्यो कहिले सुनिलले । तर, आज सुनिल हामीमाँझ रहेनन् ।’


आइतबार बिहान १०ः३० बजेदेखि राखेप परिसरमा अन्तिम श्रृद्धान्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डा ओढाएका थिए । ओलम्पियन जितबहादुर केसीले पनि जोशीलाई श्रद्धान्जली दिए ।

श्रद्धान्जलीमा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव ज्ञानराज सुवेदी, राखेप उपाध्यक्ष उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका पदाधिकारी, कर्मचारी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी, ओलम्पियन खेलाडीहरु, खेलाडी, खेलकर्मीको उपस्थिति थियो ।

जोशीको आइतबारै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । जोशीका श्रीमती तथा एक छोरा छन् । राखेप र एनओसीले विज्ञप्ती जारी गर्दै जोशीको निधन प्रति शोक व्यक्त गरेको छ ।

हाम्रो खेलकुद डटकम जोशीप्रति श्रृद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति धर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछ ।

Success

Thank you for your time.