default_image

5 years ago

April 15, 2019

फुपूलाई सन् २०२० सम्म प्रतिबन्ध !

सुबास हुमागाईं, नेपालगन्ज ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो । फुपू नेपाली खेलकुदमा पछिल्लो केहि वर्षमा सबैभन्दा सफल खेलाडीमा पर्छिन् […]

47 views

0 Bookmark

सुबास हुमागाईं, नेपालगन्ज

ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो ।

जुडो खेलाडी फुपुल्हामु खत्री ।

फुपू नेपाली खेलकुदमा पछिल्लो केहि वर्षमा सबैभन्दा सफल खेलाडीमा पर्छिन् । सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी फुपूले त्यसको केहि महिनापछि रियो ओलम्पिकमा पूरै ४ मिनेट समय खेल्दै जुडोमा नयाँ इतिहास रचिन् । पछिल्लो ३ वर्ष जुडोको ६३ केजी तौल समूहमा एकल वर्चस्व जमाएकी फुपूले आठौं राष्ट्रिय खेलकुदमा भने प्रतिस्पर्धा गरिनन् । उनकै भाषामा भन्दा उनले प्रतिस्पर्धा गर्न पाईनन् । यसको बारेमा जुडो संघका अध्यक्षसँग प्रश्न गर्दा उनले फूपुलाई प्रतिबन्ध लगाएको बताए ।

गतवर्ष ओलम्पिक सोलिडारिटी छात्रवृत्तिअन्तर्गत जापान प्रशिक्षण गर्न पुगेकी फुपू त्यहाँ रहेर प्रशिक्षण गर्न नसकेपछि स्वदेश फर्किएकी थिइन् । उनले त्यहाँ रहँदाको कठिनाई संघ र ओलम्पिक कमिटिलाई जानकारी दिएपनि दुवै तर्फबाट उचित समन्वय नहुँदा फुपू आफैं स्वदेश फर्कन बाध्य भएको बताएकी थिइन् । फुपू नेपाल फर्किएलगत्तै जुडो संघले उनलाई स्पष्टिकरण माग गर्यो । ओलम्पिक कमिटिको आदेशमा जुडो संघले स्पष्टिकरण माग गर्ने आवश्यक प्रक्रिया अगाडी बढाएको थियो । फूपुले भनेकै समयमा स्पष्टिकरण दिएकी थिइन् । उनले अहिलेसम्म लिखित रुपमा कारवाहीबारे केहि जानकारी नपाएको बताइन् ।

आठौंमा खेल्न नपाउँदा निवासमा रहेरै प्रशिक्षणमा व्यस्त फूपुले आफ्नो निराशा व्यक्त गरिन् । ‘ एक खेलाडीको जीवनमा खेल्न नपाउनुभन्दा ठूलो दुख नहुने रहेछ । मैले आफ्नो पुरै जीवन खेलप्रति समर्पित गरेको छु । आठौंका लागि म तयारी गरिरहेको थिएँ तर विभागबाट खेल्न पाउँदिन भन्ने खबर आयो । हाम्रो सिनियर दाइहरुले संघमा छलफलको लागि जाँदा पनि त्यहि निर्णय रहेछ भन्ने खबर पाएँ । अहिले सबै आठौंमा प्रतिस्पर्धा गरिरहँदा म घरमै बस्न बाध्य भएको छु,’ उनले भनिन् ।

यता संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य भने फुपूले ओलम्पिक छात्रवृत्तिजस्तो अवसरलाई सम्मान गर्न नसकेको र संघ र समग्र नेपाली खेलकुदकै शीर निहुराएको कारण प्रतिबन्ध लगाएको बताए । ‘ फूपुलाई उक्त स्थानसम्म पुर्याउन धेरै संस्थाहरुको मिहिनेत लागेको छ । हामीले उनले फर्कने भनेपछि औपचारिक रुपमा फिर्ता बोलाउने प्रक्रिया पनि थालेका थियौं । हाम्रो संघले ओलम्पिकसँग समन्वय गरेर कोदोकानमा उनलाई फिर्ता बोलाउने पत्र लेख्ने निर्णय गरेको भोलिपल्ट उनी आफैं नेपाल आएको थाहा पायौं,’ अध्यक्ष बज्राचार्यले बताए ।

फुपूले जापानस्थित विश्वविद्यालयमा प्रतिस्पर्धा गर्दा त्यहाँ कुनै किसिमको समस्या नरहेको पनि बज्राचार्यले बताए । ‘ हामीले ४३ पानाको रिपोर्ट प्राप्त गरेका छौं । त्यहाँ हामीले खेलाडीलाई केहि समस्या नरहेको थाहा पायौं । कोदोकान, ओलम्पिक कमिटि, राखेप, संघ, ओलम्पिक सोलिडारिटी लगायत धेरै संस्थामाथि प्रश्न उठ्ने काम भएको छ । यसले भविष्यमा हाम्रो खेलको अन्य खेलाडीलाई पनि असर परेको छ । हामीले सबै संस्थासँग समन्वय गरेर उनलाई प्रतिबन्ध गर्ने निर्णय गरेका हौं,’ उनले थपे ।

Success

Thank you for your time.