काठमाडौं (हाम्रो खेलकुद)– एघारौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा दुई प्रतियोगिता खेल्न अमेरिका जाने भएका छन् । उनी मंगलबार त्यसतर्फ जाँदैछन् । मार्च २५ र २६ मा हुने न्यू योर्क ओपन च्याम्पियनसिप र अप्रिल १२ देखि १६ सम्म हुने यूएस ओपनमा भाग लिने सुनिलले बताएका छन् ।
द च्याम्पियन्स क्लबको सञ्चालक समितिका अध्यक्ष पर्शुराम बास्तोला र द च्याम्पियन्स क्लबका अध्यक्ष रमेश मगरलयायत क्लबका अन्य सदस्यले सोमबार नयाँ बजारमा आयोजित कार्यक्रममा सुनिललाई विदाई गरेका छन् । यसअघि पनि झन्डै एक बर्ष अमेरिका बसेर सुनिल डेढ महिना अघि स्वदेश फर्केका थिए ।
सुनिलले दुई बर्षपछि स्वदेशमा आयोजना हुने १३ औं सागको तयारीमा जुट्ने समेत बताएका छन् । ‘अझै एक पटक साग खेल्ने इच्छा छ’ उनले भने,सन् २०१० मा बंगलादेशमा ५५ केजीमा स्वर्ण पदक जितेका ३० बर्षे सुनिलले भने ‘अमेरिकामा खेल्ने प्रतियोगिताले सागको तयारीमा मद्दत पुग्ने आशा गरेको छु । विदेशमा खेल्दा रिङको अनुभव, नयाँ नियम र विदेशीसँग खेल्दा मनोबल बढ्छ । ’ उनले छ महिना पछि स्वदेश फर्कने बताएका छन् ।

सुनिल लामालाई विदाई गर्दै पर्शुराम बास्तोला (दायाँ)।