काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण कोरियामा सम्पन्न तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपकी पदक विजेता रन्जना धामी र उनका प्रशिक्षक कविराज नेगी लामा शनिबार सम्मानित भएका छन् । रन्जनालाई उनकै डोजाङ एसिडिसी तेक्वान्दो डोजाङले सम्मान गरेको हो ।
रन्जना र प्रशिक्षक कविराजलाई डोजाङका अध्यक्ष एवम् एसिडिसीका संस्थापक समेत रहेकी सिएनएन सुपर हिरो पुष्पा बस्नेत, एसिडिसीका डाइरेक्टर विशाल राई,डोजाङ प्रमुख कल्याण कुँवर र गाम्सा तेक्वान्दो डोजाङका प्रमुख राजिव बस्नेतले सम्मान गरे । जमलमा आयोजित कार्यक्रममा एसियन पारा तेक्वान्दोमा पदक विजेता रन्जनालाई डोजाङकी अध्यक्ष बस्नेत र डोजाङ प्रमुख कुँवरले ५ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरे ।
सिएनएन सुपर हिरो बस्नेतले रन्जना जस्तै अन्य अन्य पारा खेलाडीलाई हौसला प्रदान गर्न संस्थाले हरेक समय काम गर्ने बताइन् । उनले भनिन्,‘ शारीरिक अपाङ्गता भएर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै नेपालको नाम राख्न सफल रञ्जनालाई हौसला बढाउन सम्मान गरेका हौ ।’
डोजाङ प्रमुख कुँवरले खेलाडीलाई यस्तै किसिमको उत्पे्ररणा मिलेमा उनीहरुको खेलस्तर सुधार हुने बताए । कार्यक्रममा ह्वीइल चियर पारा तेक्वान्दो खेलाडीहरुकोसमेत उपस्थिती रहेको थियो । दक्षिण कोरियाको छुनछुनमा भएको पारा तेक्वान्दो च्याम्पियनसिपमा रन्जनाले ४९ केजी तौल समूहमा अन्तर्गत के–४४ विधामा कांस्य पदक जितेकी थिइन् ।
गत १ जुलाईमा भएको च्याम्पियनसिपको सेमिफाइनलमा रन्जना मंगोलियाकी खेलाडी खुरेल बातरसँग पराजित भएपछि कांस्य पदकमै सिमित भएकी थिइन् । बातरले नै च्याम्पियनसिपमा स्वर्ण जित्नुका साथै बेस्ट फाइटरको उपाधि समेत हात पारेकी थिइन् । इसिडिसी तेक्वान्दो डोजाङमा ८ पारा तेक्वान्दो र ह्वीइल चियरका ९ खेलाडी प्रशिक्षणमा रहेको डोजाङ प्रमुख कुँवरले बताए ।