एजेन्सी – स्पेनिस खेलाडी राफेल नाडालले स्विट्जरल्यान्डका स्टान वावरिन्कालाई सोझो सेटमा पराजित गर्दै व्यक्तिगत १०औं फ्रेन्च ओपन उपाधि जितेका छन्। यो उनको करियरको १५औं ग्रयाण्डस्ल्याम उपाधि पनि हो।
चौथो वरियताका नाडालले तेश्रो वरियताका वावरिन्कालाई ६-२, ६-३ र ६-१को सोझो सेटमा पराजित गरेका हुन्। ३२ वर्षीय वावरिन्काको यो फाइनलमा पहिलो हार पनि हो। उनले यसअघिका ३ फाइनल खेलमा जित हात पारेका थिए।
यस जितसँगै नाडाल ग्रयाण्डस्ल्याम जित्ने सर्वकालीन सुचिमा पिट साम्प्रासलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएका छन्। पहिलो स्थानमा रहेका रोजर फेडेररले १८ उपाधि जितेका छन्। फेडेररले गत जनवरीमा नाडाललाई पराजित गर्दै १८औं उपाधिको रुपमा अष्ट्रेलियन ओपन जितेका थिए।
सन २००५मा पहिलो उपाधि जितेका नाडालले १०औं उपाधि यात्रासम्म जम्मा २ खेल हारेका छन्। उनले सन २००९मा रोबिन सोडरलिङ र सन २०१४मा नोभाक जोकोभिचसँग पराजय भोगेका थिए। उनले हालसम्म फ्रेन्च ओपनमा ७९ जित दर्ता गरेका छन्।
जितपछि नाडालले यस इभेन्टलाई आफ्नो करियरकै सबैभन्दा महत्वपूर्ण इभेन्टको संज्ञा दिए। “म सबै इभेन्टमा आफ्नो उत्कृष्ट प्रदर्शन दिन्छु। तर यस इभेन्टमा आउने भावनालाई म बयान गर्न सक्दिन। यो कुनै अरु चिजसँग दाँजो गर्न सम्भव छैन।”
पराजित वावरिन्काले भने नाडाललाई बधाई दिंदै उनले नाडालसँग खेल्न पाउँदा गौरवान्दित भएको बताए।