default_image

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सी अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीमा अनुबन्धित भइसकेका छन् । सन् २०२५ सम्मका लागि मायमीमा अनुबन्धित मेस्सीलाई पहिलो महिनामै उपाधि जित्ने अवसर जुरेको छ ।

मेस्सीले मायमीबाट यसै साता लिग्स कपको खेलबाट डेब्यु गर्ने बलियो सम्भावना रहेको छ । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

त्यसमध्य अमेरिकाको च्याम्पियन लस एन्जेलस एफसी र मेक्सिको पचुकाले प्रतियोगिताको नकआउट चरण पुग्न बाइ पाएका छन् । एक महिना चल्ने यस प्रतियोगिताको फाइनल अगष्ट १९ मा हुनेछ ।

सहभागी ४७ मध्य ४५ टोलीलाई ३-३ टोलीको १५ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । यी ३० टोली र नकआउट चरणमा बाइ पाएका टोली समेटेर राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछन् ।

मेस्सी सम्मिलित इन्टर मायमी दक्षिण ३ समूहमा रहेको छ । यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन् । मायमीले पहिलो खेल जुलाई २१ मा क्रुज अजुलसँग खेल्दैछ । उक्त खेल नेपाली समयअनुसार शनिबार विहान ५:४५ बजे हुनेछ ।

सन् २०१९ देखि सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि मेक्सिकोको क्रुज अजुलले जितेको थियो । सन् २०२० मा कोभिड संक्रमणका कारण हुन नसकेको प्रतियोगिता २०२१ मा मेक्सिकोकै क्लब लिओनले जितेको थियो । सन् २०२२ मा सम्भव नहुँदा यसपटक भने सबै टोली सहभागी हुँदैछन् ।

लिग्स कपको शीर्ष ३ मा पर्ने टोलीले कन्काकाफ च्याम्पियन्स कपमा छनोट हुनेछ । यो प्रतियोगिता उत्तर, मध्य र क्यारेबियन क्षेत्रको शीर्ष क्लब प्रतियोगिता हो । युरोपमा हुने युरोपेली च्याम्पियन्स लिगजस्तै मेजर लिग सकरका क्लबले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् ।

सन् २०२० देखि आधिकारिक रुपमा प्रतिस्पर्धामा उत्रिएको मायमीलाई पहिलो उपाधि दिलाउने अवसर पनि मेस्सीसामु छ । अर्जेन्टिना र बार्सिलोनामा सँगै काम गरेका प्रशिक्षक जेरार्डो मार्टिनोसँग मेस्सीलाई नयाँ इतिहास रच्ने अवसर रहेको छ ।

Success

Thank you for your time.