default_image

4 years ago

May 17, 2022

‘क्यानबाट कप्तान पाउँछु भन्ने आशा नै थिएन’ – सीता

423 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी प्रमुख अलराउन्डर तथा पूर्व उपकप्तान सीता रानामगरले क्यानले आफूलाई राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दिन्छ भने कहिल्यै आशा नगरेको बताएकी छिन् ।

क्यानले आइतबार सबैलाई आश्चार्य पार्दै सीतालाई उपकप्तानबाट हटाएको थियो । त्यस दिन दुबईमा फेयर ब्रेक प्रतियोगिताको फाइनल खेल्न लाग्दा उक्त खबर पाएकी सीता सोमबार युगान्डाविरुद्ध खेलमा यात्राका क्रममा रहेकाले उपस्थित रहिनन् । आइतबार साँझ नेपाल आएकी उनले सोमबार युगान्डासँगको दोस्रो महिला टि२० आई खेलपछि क्यानको निर्णयबारे प्रतिक्रिया दिएकी हुन् ।

‘क्यानले राम्रो सोचेर नै उपकप्तानबाट हटाउनु भएको होला । पक्कैपनि भविष्यको लागि सोच्नु भएको होला । मैले पनि मिडियाबाट नै थाहा पाएको हो । मलाई त्यसअघि केहि पनि थाहा थिएन । म फेयरब्रेकलप फाइनल खेल खेल्न जाँदै थिएँ । मैले पनि अरुबाट थाहा पाएको हो । पक्कैपनि राम्रो निर्णय गर्नुभएको होला’, सीताले भनिन् ।

त्यसैमा उनले थपिन्, ‘सायद युवा खेलाडीलाई विकास गर्नलाई होला । अझ थप युवा खेलाडीलाई दिएर कप्तान र उपकप्तान पद नै विकास गरेको भए अझै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ ।’

सीता नेपालले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा देखि नै टोलीमा रहेकी खेलाडी हुन् । उनले राष्ट्रिय टोलीका लागि पछिल्लो डेढ दशकयता निरन्तर खेल्दै आएकी छिन् । घरेलु क्रिकेटमा उनकै कप्तानीमा रहेको नेपाल एपिएफ क्लबले एकछत्र राज गर्दै आएको छ । त्यसैले सीतालाई लामो समयदेखि कप्तानको दाबेदार खेलाडीको रुपमा पनि हेरिएको थियो ।

सीता आफैं पनि कप्तानको दाबेदार लाग्ने स्वीकार गर्दछिन् । ‘कप्तानको दाबेदार लाग्छ । तर के गर्नु मेरो संघ क्यान नै शक्तिशाली भएपछि मैले वहाँहरुको निर्णयलाई स्वीकार गर्नैपर्छ । म खुसी छु । म सिनियर खेलाडीको रुपमा खेलेको छु । म एपिएफ टोलीलाई नेतृत्व गरेर राम्रो नतिजा पनि दिइरहेको छु । कम्तिमा एपिएफमा मेरो कदर हुन्छ र पोजिसन (पद) सुरक्षित छ’, सीताले भनिन् ।

सीता नेपाली महिला क्रिकेटमा प्रदर्शन र अनुभवको हिसाबमा सर्वाधिक सफल क्रिकेटर हुन् । सीता महिला टि२० आईमा नेपालबाट सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी हुन् । २२ खेलमा सीताले ४ सय ४५ रन बनाएकी छिन् । उनको उत्कृष्ट प्रदर्शन ८२ रन अविजित छ । जुन अन्तर्राष्ट्रिय महिला क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । २२ विकेटका साथ नेपालबाट महिला टि२० आईमा शीर्षस्थानमा छिन् ।

क्यानले सीतालाई कप्तानमा परिक्षण नगरी हटाउँदा उनले नेपाली क्रिकेटमा दिएको योगदानलाई कदर नभएको देखिन्छ । प्रदर्शन र नेतृत्व दुबैमा अब्बल हुँदा क्यानले केहि खेलमा कप्तानमा उनलाई हेर्नुपर्ने थियो । तर त्यसो हुन सकेन । तपाईंको कदर नभएको होइन र? भन्ने प्रश्नमा सीताले भनिन्, ‘अब वहाँहरुलाई के लागेको छ । म भन्दा उत्कृष्ट युवा खेलाडीलाई लिएर ग्रुम गर्दै जाउँ भन्ने हुन सक्छ । मेरो कदर कति गर्नुहुन्छ वा हुँदैन त्यो त क्यानलाई सोध्नुपर्छ । खेलाडीको रुपमा खेल्दा म त्यतिकै खुसी छु ।’

फेयर ब्रेकमा सीताले विकेट लिएपछि पुष्पा सेलेब्रेसन गरेकी थिइन् । सामाजिक संजालमा कतिपयले क्यानले त्यसको कारण यो निर्णय लिएको हुनसक्ने पनि बताउँदै आएका छन् । तर सीतालाई आफूलाई भने त्यस्तो नलागेको बताइन् । ‘म उपकप्तानबाट हट्नु भन्दा अगाडिनै मैले गरेको सेलेब्रेसन हो । म खेलाडीको रुपमा कतिपय ठाउँमा अनुभव भएको कुरा होला । म चाहिँ झुक्दिन । जो ले मलाई जति सुकै गरोस म झुक्दिन भनेर नै गरेको थिएँ,’ उनले थपिन् । सीताले फेयरब्रेकले लिएको अन्तर्वार्तामा पनि वीर गोर्खालीको इतिहास र पछिल्लो समय चलेको सिनेमालाई जोड्दै नेपालीहरु कहिल्यै नझुक्ने संदेश दिन खोजेको अभिव्यक्ति दिएकी थिइन् ।

सीताले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएकी छिन् । फेयर ब्रेकमा उत्कृष्ट प्रदर्शनका साथ उनी ‘टिम अफ द टुर्नामेन्ट‘ मा पनि परिन् । सीताले क्यानले आफूलाई कप्तान बनाउनेमा भने कहिल्यै आशा नगरेको बताइन् । ‘त्यो त मैले कहिल्यै पनि आशा गरिन । यो भन्दा अगाडिको भ्रमणमा म उपकप्तान हो वा होईन स्पष्ट थिएन । आधिकारीक जानकारी पाइनँ,’ उनले निराश हुँदै थपिन्, ‘त्यसले म झनै खुसी छु । म उपकप्तान हो वा होईन आफैं अन्यौलमा थिए । त्यसबेला क्यानले घोषणा गरेको टोलीमा कप्तान बाहेक अरु खुलाइएको थिएन । त्यसैले म के हो थाहा थिएन । मलाई अरुले उपकप्तान भनेपनि नभनेपछि म आफूलाई सिनियर खेलाडी खेलेको थिए । म उपकप्तान हो वा होईन थाहा थिएन ।’

नेपालले गत नोभेम्बरमा मलेसियामा भएको आइसिसी महिला टि२० विश्वकप छनोट एसिया र त्यसअघि कतारसँग खेलेको तीन महिला टि२० आई सिरिजमा उपकप्तान सार्वजनिक गरेको थिएन । पछिल्लो समय सिनियर टोली महिला र पुरुष दुवै टोलीमा एकता नभएको लख काट्न सकिन्छ । महिला टोलीमा पनि सिनियर खेलाडीबीच गुट रहेको आरोप सामाजिक संजालमा देख्न सकिन्छ । सीता यसलाई सामान्य रुपमा लिन्छिन् ।

‘त्यस्तो समुह त हरेक ठाउँमा हुन्छ । तर फरक समूह छ नै चाहिँ भन्न मिल्दैन । किनभने खेलाडीको रुपमा खेलेपछि जितको लागि हेर्ने हो । एउटा समुहले मात्र जित्ने होईन । जितेपछि १४ जनाले नै जित्ने हो । बाहिर जतिसुकै भएपनि खेलमा त्यस्तो हुँदैन,’ उनले भनिन् ।

सीता, रुविना क्षेत्री बेलबासे, करुणा भण्डारी र सरिता मगरले लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । तर हालसम्म टोली बलियो सम्भावना बोकेपनि विश्वकपमा भने पुग्न सकेको छैन । यो अवस्थामा कप्तान परिवर्तन गर्दा रणनीति पनि फरक हुँदै विश्वकप पुर्याउन सक्नुहुन्थ्यो होला ? भन्ने प्रश्नमा उनले भनिन्, ‘साँच्चै नढाटी भन्दा मैले नेतृत्व पाउँछु भनेर जिन्दगीमा आशा गरेको छैन । त्यस्तो कहिल्यै पनि भएन । म एपिएफको कप्तानमै खुसी छु । छनोटमा पनि मेरो पद कुन हो थाहा थिएन । अलिकति दुःख लागेको चाहिँ मिडिया आएको २४ घण्टापछि थाहा दिइयो । त्यो नराम्रो लाग्यो’, उनले भनिन् ।

‘खेलाडीबाट प्रोफेसनलिजम खोज्नु हुन्छ भने उताबाट पनि त प्रोफेसनलिजम आउनु पर्यो नि । त्यति भएन । त्यहि दुःख लाग्यो,’ उनले थपिन्, ‘इन्दु पनि मेरो नै बहिनी हो । उसले पनि अवसर पाउनुपर्छ । म त भन्छु अझै सुधार गरेर कप्तान नै होस् ।’

भिडियो हेर्नुहोस :

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.