3 years ago
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति नदिँदा नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

देशाई शनिबार दिउँसो १ बजे नेपाल आइपुगेका थिए । राखेपबाट नियुक्तिको लागि स्वीकृति नआएको अवस्थामा क्यानले पनि औपचारिक कार्यक्रम गर्न सकेन । प्रशिक्षक आगमनबारे यसअघि क्यानले आधिकारिक जानकारी दिएर विमानस्थलमा पत्रकार सम्मेलन हुने गर्दथ्यो । तर यसपटक राखेपले प्रक्रियामा अड्चन ल्याउँदा प्रशिक्षक नियुक्तिबारे घोषणा गरेको छैन ।
देशाई नेपालको मुख्य प्रशिक्षक रहने अनौपचारिक रुपमा बाहिरिसकेको छ । प्रशिक्षक छनोट समितिले सिफारिस गरेका मोन्टी देशाईको नाम क्यान कार्यसम्पादन समितिले पास गरेर राखेप र आइसिसीलाई पठाएको थियो । आइसिसीले नियुक्तको लागि अनुमती दिइसकेको छ । तर राखेपले भने यसमा जानाजान ढिलासुस्ती गरेको देखिन्छ ।
यसको असर दुई हप्तापछि घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियासँग आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने नेपाली टोलीमा ठूलो असर पर्नेछ । बन्द प्रशिक्षणका लागि टोली ढिलो बोलाउनुको मुख्य कारण पनि यहि हो । क्यानले शुक्रबार मात्र २८ सदस्य टोली बोलाएको छ ।

दुई हप्ताभित्र उक्त खेलाडीबाट अन्तिम टोली घोषणा गर्नुपर्ने हुन्छ । दुई हप्ता मात्रै बाँकी रहेपछि क्यानले प्रशिक्षक भने नेपाल बोलाएको छ । नयाँ प्रशिक्षकलाई खेलाडी बुझ्न यो समय निकै कम हुने देखिन्छ । राम्रोसँग खेलाडी नै नबुझि नेपाली अन्तिम टोली घोषणा गर्नुपर्ने हुन्छ । जुन अवस्थाबाट एसोसियटका सर्वाधिक बलिया टोली स्कटल्यान्ड र नामिबियालाई हराउनु पर्ने हुन्छ ।
गत आइतबार प्रशिक्षक नियुक्त भन्ने समाचार बाहिरिएपछि क्यानले प्रेस विज्ञप्ति जारी गर्दै राखेपबाट अनुमति आएपछि मात्रै नियुक्ति हुने जनाएको थियो । क्यानले सोमबार औपचारिक रुपमै राखेपलाई पठाएको थियो । यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राखेपबाट अनुमति नआएको बताउँछन् ।
‘अहिलेसम्म स्वीकृति गरेको छैन । आज शनिबार पनि विदा भयो । उनीहरुको कार्यकारी समितिको बैठक बसेर पास गर्ने हो । छनोट समितिले नाम पठायो । त्यसलाई क्यानको कार्यसम्पादन समितिले पारित गरेर राखेप र आइसिसीलाई पठाएका थियौं । आइसिसीले तुरुन्तै जवाफ दिँदै हुन्छ भन्यो । राखेपबाट भने अहिलेसम्म आएका छैन’, चन्दले हाम्रो खेलकुदसँग भने ।

चन्दले यसअघि भने अहिलेसम्म यस्तो नभएको बताए । ‘प्रशिक्षक मोन्टीलाई बोलाइसकेका छौं । छनोट समितिले दिएपछि कार्यसम्पादन समितिले पास गरेपछि लागु हुन्थ्यो । यसअघि प्रशिक्षक छनोटमा राखेपको कुनै हस्तक्षेप थिएन । श्रम स्वीकृतिको लागि सजिलो हुन्छ भनेर गरेका हौं’, उनले भने ।
पछिल्लो समय राखेपले क्यानलाई अनावश्यक दुःख र कष्ट दिँदै आएको छ । नेपाल टि२० आयोजनाका दौरान पनि क्यानसँग अनावश्यक पैठाजोरीका कारण प्रतियोगिता आयोजनामै प्रत्यक्ष असर परेको थियो ।
सरकार, राखेप, सदस्य सचिव र संघ अनुसार व्यहवार गर्नु नेपाली खेलकुदमा नौलो कुरा भने होइन । राखेपले क्यानलाई पछिल्लो समय कतिसम्म दुःख दिएको छ भन्ने प्रशिक्षक नियुक्ति एक उदाहरण मात्रै हो । राखेप नेतृत्व क्यानको असन्तुष्ट समूहसँग नजिक रहेकाले वर्तमान क्यान नेतृत्वलाई अनावश्यक समस्या दिएको आरोप पनि लाग्दै आएको छ ।

विश्व क्रिकेटमै हेर्ने हो भने क्रिकेट बोर्डले आइसिसीसँग स्वीकृति लिएर नियुक्त गर्न सक्छ । प्रशिक्षक नियुक्तिको सम्पूर्ण अधिकार सम्बन्धित क्रिकेट बोर्डसँग हुन्छ । यसअघि डेभ ह्वाटमोर, पुबुदु दासानायिके र मनोज प्रभाकर क्यान आफैंले नियुक्त गरेको थियो । गर्नुपर्ने पनि संघले नै हो ।
यदि विदेशी प्रशिक्षकको तलब राखेपले दिने हो भने मात्रै स्वीकृति लिनु पर्ने हुन्छ । जुन नेपालमा आफ्नै आयश्रोत नहुने साना खेलकुद संघले गर्ने गर्दछन् । तर विदेशी प्रशिक्षक राख्दै आएका क्रिकेट र फुटबलले आफैं तलब दिँदै आएका छन् ।
क्यान आइसिसीबाट निलम्बनमा हुँदा २०७६ जेठ मा तत्कालिन राखेप सदस्य सचिव केशव कुमार विष्टले भारतीय प्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेका थिए । त्यो समय क्यान नहुँदा राखेपले उनलाई मासिक ७ हजार डलर पारिश्रमिक दिएको थियो ।
क्यान निलम्बनमा हुँदा आइसिसीले राखेप मार्फत पैसा दिँदै आएको थियो । तलबमा बढी कर लगाएको भन्दै पटवालले माघमा छाडेका थिए । त्यसपछि अन्य सबै प्रशिक्षकको तलब क्यान आफैंले दिँदै आएको छ । राखेपले क्यानलाई आर्थिक रुपमा प्रधानमन्त्री कप राष्ट्रिय महिला र तथा पुरुष प्रतियोगिता आयोजना गर्न मात्रै सहयोग गर्ने गर्दछ । यो पटक ट्यालेन्ट हन्टको लागि पनि रकम विनियोजन गरेको बुझिएको छ ।

नेपाल टि२० लिग विवादपछि राखेपले क्यानमाथि अनावश्यक दुःख झन् बढाउन थालेको छ । नेपाल टि२० लिगको श्रम स्वीकृतिमा ढिलाई हुनुमा राखेपले पनि ढिलासुस्ती गरेको बताइन्छ । राखेपले प्रतियोगिता सकिँदासम्म आफूहरुले नेपाल टि२० लिग आयोजना गर्न स्वीकृति नदिएको भन्दै बच्न खोजेको थियो । जबकी तत्कालिन खेलकुद मन्त्रीले महेश्वरजंग गहतराजले नै लिगको उद्धघाटन गरेका थिए ।
राखेपबाट नेपाल टि२० लिग विवाद र फिक्सिङबारे छानविन गर्न गठन भएको पाँच सदस्य समितिले क्यानलाई नै निलम्बन गर्न सक्ने प्रतिवेदन बुझाएको थियो । विश्वभरनै क्रिकेटमा स्पट र म्याच फिक्सिङमा जुन खेलाडी वा पदाधिकारीले गल्ती गरेको छ त्यसलाई मात्रै कारबाही हुन्छ । हो असफलता वा विवादपछि पदमा बसेका पदाधिकारीले नैतिकताको आधारमा राजीनामा भने दिनुपर्ने हुन्छ । त्यो भने क्यानका पदाधिकारीले देखाउन सकेनन् ।
आइसिसी क्रिकेटमा कुनैपनि हस्तक्षेप स्वीकार गर्दैन । २०१५ मा केशवकुमार विष्टले निर्वाचन विवादपछि रमेशकुमार शिलवालको अध्यक्षतामा नयाँ तदर्थ समिति बनाएपछि आइसिसीले तत्काल क्यानलाई निलम्बन गरेको थियो । चार वर्षपछि आइसिसी आफैंले निर्वाचन गर्दै फुकुवा सशर्त रुपमा फुकुवा गरेको थियो । क्यान नहुँदा नेपाली क्रिकेटको अवस्था के थियो सबैलाई जानकारी नै छ ।
राखेपको ढिलाईले नेपाली क्रिकेटको भविष्य मानिएको विश्वकप लिग–२ को तयारी र प्रदर्शनमा पनि असर पर्ने स्पष्ट देखिन्छ । त्यसैपनि तयारीमा धेरै ढिला भइसकेको छ । नेपाललाई कम्तिमा ओडिआई मान्यता जोगाउन बाँकी १२ खेलमा ८ माथि जित्नुपर्ने हुन्छ । क्रिकेटको ठूला सफलतामा श्रेय लिने राखेप प्रशिक्षक नियुक्तमा स्वीकृति दिन भने जानीजानी ढिलो गरेको छ ।
राखेपलाई यो सामान्य लाग्ला । तर एक दिनको प्रशिक्षणले कति असर पर्छ त्यो खेलाडी र प्रशिक्षकलाई मात्रै थाहा हुन्छ । त्यसको असर दुई हप्तापछि खेलमा देखिनेछ । यस विषयमा बुझ्न राखेपलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]