default_image

3 years ago

March 17, 2023

अनिश्चितताको भुमरीबाट उठेको नेपाली क्रिकेटको जादुमयी यात्रा

295 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपालले फागुन २ मा नामिबियासँग आइसिसी विश्वकप लिग-२ को आफ्नो २५ औं खेल खेल्नुअघि अंक तालिकामा शीर्ष पाँचमा पर्न धेरै कठिन देखिन्थ्यो । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन नेपालले बाँकी १२ मध्य ९ खेल जित्नुपर्ने थियो । अझ शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुग्न १२ मध्य ११ खेल जित्नुपर्ने थियो ।

त्यो समय सोझै विश्वकप छनोट कल्पना बाहिर थियो । शीर्ष पाँचमा पर्दै ओडिआई जोगाउन नै धेरै कठिन देखिन्थ्यो । त्यसैले सबैको ध्यान ओडिआई मान्यता जोगाउनुपर्छ भन्ने थियो । त्यसबेला नेपाल अंक तालिकामा २४ खेलमा ८ मा जित, एक खेल रद्ध, एक खेल टाई र १४ खेलमा हारसहित १८ अंकका साथ छैटौं स्थानमा थियो ।

नेपालले यसअघि तीन वर्ष जुन किसिमको प्रदर्शन गरेको थियो त्यसलाई आधार मान्दा ओडिआई बचाउन सम्भव देखिएको थिएन । नेपाली क्रिकेटको भविष्य नै अनिश्चित थियो । तर त्यसको ठ्याक्कै एक महिनापछि नेपालले ओडिआई मान्यता मात्र जोगाएन, सोझै विश्वकप छनोटमा स्थान बनायो ।

नेपालले १२ मध्य ११ खेल जित्दै अविश्वसनीय यात्रा तय गर्यो । ३६ खेलमा नेपालले १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ शीर्ष तीनमा स्थान अन्त्य गर्यो ।

नेपालले खेलेका पछिल्ला १२ मध्य एक खेल मात्रै हार्यो । त्यो हार दुई साता अघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा थियो । घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो । त्यसपछि नेपालले हारको सामना गर्नु परेन । सुरुवात नै नेपालको दमदार रह्यो । पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको थियो ।

नेपालले कुशल भुर्तेलको १ सय १५ रनको शतकीय र रोहित पौडेलको ७२ रनको सहयोगमा ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जुन नेपालले आफ्नो ओडिआई इतिहासमा पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य थियो । त्यसअघि नेपालले २०१९ मा युएईविरुद्ध २ सय ५५ रनको लक्ष्य पूरा गरेको थियो ।

लिग-२ को अन्तिम खेलमा नेपालले ३ सय ११ रनको लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खराब प्रकाशको कारण खेल रोकिएपछि डकवर्थ लेविस स्टर्न पद्दतिको नियम अनुसार नेपाल ९ रनले विजयी भयो ।
पछिल्ला १२ खेलमा नेपालले जादुमयी प्रदर्शन गर्यो । यसको मुख्य श्रेय मुख्य प्रशिक्षक मोन्टी देशाईलाई जान्छ । मोन्टी र खेलाडीको उत्कृष्ट योगदानमा नेपालले असम्भव मानिएको सफलता हात पार्यो ।

तीन वर्ष वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको भूमिका सकाएर मोन्टी नेपालको सिरिज सुरु हुनुभन्दा तीन साता अघि मात्रै नेपाल आएका थिए । मोन्टी माघ १४ मा नेपाल आइपुगेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिन ढिलो गर्दा औपचारिक रुपमा माघ २३ मा मात्रै नियुक्त भएका थिए । तर मोन्टीले प्रशिक्षण भने नेपाल आएको अर्को दिन नै सुरु गरेका थिए ।

पहिलो दिन नै मोन्टीले शरद भेषावकर, विनोद भण्डारीसहित केहि खेलाडीको फिटनेस परिक्षण गरेका थिए । प्रमुख बलर र ब्याटरलाई नेटमा हेरेका थिए । त्यहाँबाट यात्रा सुरु गरेका मोन्टीले अप्रत्यासहित नतिजा दिलाए । मोन्टीले खेलाडीमा दिलाएको विश्वास र सकरात्मक सोच नै सफलताको मुख्य कडी रह्यो ।

मोन्टीले आगमनसँगै टोलीमा अभियान चलाए, ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वन बल ब्याटल’ । ह्याप्पी ड्रेसिङ रुम अर्थात् खुसीले भरिएको टिम तथा ‘वन बल ब्याटल’ अर्थात् हरेक बलको युद्ध । त्यसै अनुसार खेलाडीले पनि काम गरे । टोलीका भएका नकरात्मक पक्षलाई अन्त्य गरे ।

अनिश्चितताको बीचमा मोन्टी खुकुरीको धारमा हिँड्न तयार भएर नेपाल आएका थिए । खुकुरीको धार हुँदै रातो कार्पेट सम्मको यात्रा तय गरे ।

मोन्टी नेपाल आउँदा अंक तालिकामा ओडिआई मान्यता जोगाउन कठिन त थियो नै, टोलीको अवस्था पनि कमजोर थियो । मनोज प्रभाकरले टोलीको ब्याटिङ क्रम निकै भद्रगोल बनाएका थिए । टिम अस्तव्यस्त थियो । मोन्टीले सुरुवातमै टोलीको ब्याटिङ क्रम एकरुपता दिँदै विश्वास दिलाए ।

नेपालको क्रिकेट इतिहास हेर्दा ब्याटिङ सबैभन्दा ठूलो समस्या हो । मोन्टीले पनि ब्याटिङमै काम गरे । टोलीमा ७ ब्याटर मैदान उतारे । मोन्टीले केहि जोखिम पनि लिए । कुशल मल्ललाई माथिल्लोक्रममा खेलाउँदा दीपेन्द्रसिंह ऐरीलाई फिनिसरमा झारे । नेपालले सुरुवाती तीन खेलमा लगातार २ सय ७० माथिको योगफल पुरा गर्यो ।

अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ६१–५ को अवस्थाबाट रोहित पौडेलले ९५ रनको एक यादगार इनिङ खेले । नेपालले पहिलो पटक लिग २ मा चार खेलमा चार नै जित्यो । एसोसियटका बलिया टोली स्कटल्यान्ड र नामिबियालाई सबै खेलमा हराएपछि मनोबल झनै बढ्यो ।

त्यस लगत्तै युएई पुगेको नेपालले पपुवा न्युगिनीलाई दुई र युएईलाई एक खेलमा हरायो । एक खेलमा हार्यो । तर नेपाल खासै दुःखी थिएन । त्यसै दिन यू१९ टोलीले युएईलाई हराउँदै सोझै विश्वकप स्थान बनाएको थियो । त्यसपछि घरेलु मैदानमा नेपालले पपुवा न्युगिनी र युएई दुवैलाई हराउँदै सोझै विश्वकप छनोटमा स्थान बनायो । मोन्टीले हरेक दिन पिच कन्डिसन अनुसार खेलाडी फेरबदल गरेका थिए ।

पछिल्लो एक महिना साँच्चै नेपाली क्रिकेटको लागि एक जादुमयी प्रदर्शन रह्यो । सबैले आशा मारेको सोझै विश्वकप छनोट र ओडिआई मान्यता सोझै प्राप्त गर्यो ।

खेलाडीको सानदार प्रदर्शन

मोन्टीसँगै खेलाडीले पनि सानदार प्रदर्शन गरे । हरेक खेलमा नयाँ नयाँ म्याच विनर आए । कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेखले सानदार प्रदर्शन गरे । बलिङमा सन्दीप लामिछानेको प्रदर्शन अझ महत्त्वपूर्ण रह्यो । दीपेन्द्र, ललितनारायण राजवंशी, सोमपाल कामी र करणले पनि महत्त्वपूर्ण भूमिका खेले ।

खेलाडीले जिम्मेवारीका साथ सानदार प्रदर्शन गरे । ओडिआई महत्वलाई राम्रोसँग बुझे । नतिजा आफ्नो पक्षमा आयो । फरक खेलमा फरक खेलाडी चल्दा नतिजा आउन सफल भयो । नेपाल एकै खेलाडीमा निर्भर रहेन । ब्याटिङमा अत्याधिक डट बललाई कम गरे ।

घरेलु मैदान, कन्डिसन र दर्शकको साथ

नेपालले सानदार प्रदर्शन गर्नुमा घरेलु मैदान, कन्डिसन र दर्शकको साथ अझ महत्वपूर्ण रह्यो । टियुमा नेपालले खेलेका ८ मा ८ नै खेल जित्यो । दुबईमा चार मध्य तीन खेलमा जित हात पार्यो । घरेलु मैदान र दर्शकको नेपालले भरपूर्ण फाइदा उठायो । दुबईमा पनि नेपाली दर्शकको राम्रो साथ दिएका थिए ।

भाग्यको साथ

क्रिकेटमा राम्रो खेलेर मात्रै हुँदैन । कुहिले काहिँ भाग्यले पनि साथ दिनुपर्छ । यस पटक नेपाललाई भाग्यले पनि राम्रो साथ दियो । कप्तान रोहित पौडेलले १२ मध्य ८ खेलमा टस जिते । नामिबिया र स्कटल्यान्डविरुद्ध चारै खेलमा टस जितेका थिए । युएई भ्रमणमा रोहितले चार मध्य तीन खेलमा टस जिते । उनले पपुवा न्युगिनीविरुद्ध टस हारेका थिए । अन्तिम चार खेल मध्य तीन खेलमा टस हारेका थिए । तर खेल नेपालले सबै जित्यो ।

सोमबार नेपालले पपुवा न्युगिनीलाई ९५ रनमा अल आउट गर्दै उक्त लक्ष्य ७.४ ओभरमा पूरा गर्यो । उक्त खेल सकिएको केहि समयपछि ठूलो वर्षा भएको थियो । पिएनजीलाई नेपालले २२.५ ओभरमा अल आउट गरेको थियो । पुरै खेल भएको अवस्थामा वर्षाले खेल रोकिँदा अंक बाँड्नु पर्ने थियो । अंक बाँड्दा जित प्रतिशतको साथ बाहिरिनु पर्ने हुन्थ्यो ।

तर नेपाललाई भाग्यले राम्रो साथ दियो । अन्तिम खेलमा नेपाल डकवर्थ लविस पद्धतिमा ४१ ओभर सम्म पछि थियो । ४२ औं ओभरमा नेपालले कुल २० रन जोडेको दुई ओभरपछि खेल नै रोकिन पुग्यो । यस पटक भाग्यले पनि नेपाललाई राम्रो साथ दियो ।

फेरिएको आत्माविश्वास र मनोबल

मोन्टीको आगमनसँग खेलाडीको आत्माविश्वास र मनोबल फेरिएको छ । खेलाडीमा जस्तो सुकै अवस्थामा पनि जिताउन सकिन्छ भन्ने सोच आएको छ । त्यहिँ नै जितको प्रमुख श्रेय हो । ३ सय ११ रनको लक्ष्य पछ्याउँदा होस् वा २ सय १३ । कुनैपनि खेलमा नेपालले कहिल्यै हार मानेको थिए । हामी गर्न सक्छौं भन्ने भावना आएको छ ।

त्यसैले नेपाल सफल भएको छ । यसअघि पनि नेपाली खेलाडीको क्षमतामा कुनै कमी थिएन । आत्माविश्वासको कमी रहँदै आएको थियो । त्यसलाई मोन्टीले सुधार गरे ।

साँच्चै हिम्मत नहार्ने हो भने असम्भव केहि छैन भन्ने राम्रो सन्देश दिएको छ । अनिश्चित भविष्यको अवस्थाबाट नेपालले आफू मात्रै होईन विश्वमै उत्कृष्ट पूनरागमनको उदाहरण प्रस्तुत गरेको छ । पछिल्लो एक महिना नेपाली क्रिकेटले साँच्चै जादुमयी प्रदर्शन गर्यो । यो पूनरागमन सधैंभर उदाहरणीय रुपमा रहनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.